कारागारबाट फरार सिन्धुलीका वाइवा पक्राउ

सोमवार , कार्तिक ३०, २०८३

काठमाडौं,३० कात्तिक।  – जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली घर भएका ३४ वर्षीय भीमबहादुर वाइबालाई प्रहरीले आइतबार काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको हो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी वाइबालाई प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका उनी लामो समयदेखि फरार थिए ।

बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएका वाइबालाई आठ वर्ष कैद सजाय सुनाइएको थियो । तोकिएको सजायमध्ये उनले तीन वर्ष कैद भुक्तान गरिसकेका छन् । बाँकी पाँच वर्ष कैद भुक्तान गर्नुपर्ने अवस्थामा रहेका उनी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

प्रहरीले पक्राउ गरेपछि वाइबालाई पुनः केन्द्रीय कारागार सुन्धारा पठाएको छ । बाँकी कैद सजाय भुक्तान गराउन उनलाई कारागार चलान गरिएको हो ।

प्रतिक्रिया