विश्वमञ्चमा चम्किए गौमतीका निराकार

सोमवार , कार्तिक ३०, २०८३

सिन्धुली,३० कात्तिक — सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी निराकार सिग्देलले वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनले विश्वस्तरको प्रतिष्ठित ‘बो सिट ओसन अवेयरनेस कन्टेस्ट’ (Bow Seat Ocean Awareness Contest) अन्तर्गत सिर्जनात्मक लेखन (Creative Writing) विधामा रजत पुरस्कार (Silver Award) प्राप्त गरेका हुन् ।

विश्वका १४० देशका ७ हजार ३०० भन्दा बढी युवा स्रष्टाको सहभागिता रहेको उक्त प्रतियोगितामा उत्कृष्ट सिर्जनामार्फत प्रतिस्पर्धीलाई पछि पार्दै निराकारले द्वितीय स्थान हासिल गर्न सफल भएका हुन् । उनको यस उपलब्धिले अन्तर्राष्ट्रिय शैक्षिक तथा सिर्जनात्मक क्षेत्रमा नेपाली विद्यार्थीको प्रतिभालाई समेत उजागर गरेको छ ।

प्रतियोगितामा ‘योर स्टोरी, आवर ओसन : हाउ आवर ओसन सस्टेन्स, प्रोटेक्ट्स एन्ड इन्स्पायर्स अस’ (Your Story, Our OceanM How Our Ocean Sustains, Protects and Inspires Us) शीर्षकअन्तर्गत सहभागी भएका निराकारले वातावरण र समुद्री संरक्षणसँग सम्बन्धित विषयमा आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा रजत पुरस्कार प्राप्त गरेसँगै उनले ७५० अमेरिकी डलर नगद पुरस्कारसमेत हासिल गरेका छन् । उक्त रकम नेपाली मुद्राअनुसार करिब १ लाख १३ हजार ३३२ रुपैयाँ हुन्छ । पुरस्कारसँगै उनले आयोजक संस्थाबाट प्रमाणपत्रसमेत प्राप्त गरेका छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी भएर उत्कृष्ट स्थान हासिल गर्नु विद्यालय र स्थानीय शैक्षिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। सीमित शैक्षिक स्रोतसाधनका बीच पनि सिर्जनात्मक क्षमता, अध्ययन र निरन्तर प्रयासका माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण निराकारको सफलताले प्रस्तुत गरेको छ ।

वातावरण संरक्षणजस्तो विश्वव्यापी सरोकारको विषयमा आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रजत पुरस्कार जित्न सफल निराकारको उपलब्धि सिन्धुलीका लागि गौरवको विषय बनेको छ ।

प्रतिक्रिया