शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

काँग्रेस बागमती प्रदेश सदस्य असिम थापाद्वारा पार्टी परित्याग

शुक्रवार , कार्तिक २७, २०८३

सिन्धुली,२७ कात्तिक – नेपाली काँग्रेस सिन्धुलीका नेता तथा बागमती प्रदेश सदस्य असिम थापाले पार्टीभित्र अस्वस्थ गुटबन्दी, विभेद र निष्ठावान कार्यकर्ताको अवमूल्यन बढेको आरोप लगाउँदै नेपाली काँग्रेस परित्याग गरेका छन् ।

थापाले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत काँग्रेसको बागमती प्रदेश सदस्य पदसँगै क्रियाशील सदस्यतासमेत त्यागेको घोषणा गरेका हुन् । पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया र परिणामप्रति असन्तुष्टि जनाउँदै उनले संगठनभित्र विद्यमान विकृति र विसंगतिका कारण पार्टीमा रहेर रचनात्मक योगदान दिन सक्ने अवस्था नरहेको बताएका छन् ।

काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा आफूलाई विश्वास गरी मतदान गर्ने मतदाता, शुभेच्छुक तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै थापाले आन्तरिक निर्वाचनलाई लोकतान्त्रिक अभ्यास, एकता र संगठन सुदृढीकरणको अवसरका रूपमा लिएको उल्लेख गरेका छन् । स्वच्छ प्रतिस्पर्धाको अपेक्षासहित निर्वाचन प्रक्रियामा सहभागी भए पनि परिणाम र प्रक्रिया निराशाजनक रहेको उनको भनाइ छ ।

पार्टीभित्र व्यक्तिगत र गुटगत स्वार्थ हाबी हुँदा समग्र संगठन कमजोर बनेको थापाको आरोप छ । गाउँ, वडा र पालिका तहसम्म पुगेर संगठन निर्माणमा सक्रिय कार्यकर्तालाई पन्छाउँदै गुटको आडमा सीमित व्यक्तिलाई अघि बढाउने प्रवृत्तिले पार्टीप्रतिको विश्वासमा गम्भीर आघात पुगेको उनले बताएका छन् ।

उनले लामो समयदेखि संगठनका लागि खटिएका निष्ठावान कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आन्तरिक द्वन्द्व, प्रतिस्पर्धा र एकअर्कालाई कमजोर बनाउने गतिविधिले पार्टीको भविष्यप्रति नै प्रश्न उठाएको उनको भनाइ छ ।

पार्टीभित्रै मेलमिलाप कायम हुन नसकेको अवस्थामा अन्य राजनीतिक दलसँग प्रभावकारी प्रतिस्पर्धा गर्ने आधारसमेत कमजोर हुने चिन्ता उनले व्यक्त गरेका छन् । आन्तरिक विवादका कारण संगठन थप कमजोर बन्दै गएको उनको निष्कर्ष छ ।

थापाले विज्ञप्तिमा भनेका छन्, “अब यसै दलमा रहेर अगाडि बढ्न र संगठनका लागि रचनात्मक योगदान दिन सम्भव छैन भन्ने निष्कर्षमा म पुगेको छु ।”

धेरै सोचविचारपछि पार्टी परित्याग गर्ने निर्णय लिएको उल्लेख गर्दै उनले आफ्नो निर्णयबाट कुनै सहकर्मीलाई असुविधा पुगेको भए क्षमा मागेका छन् । साथै, राजनीतिक यात्रामा सहयोग र मार्गदर्शन गर्ने सम्पूर्ण सहकर्मीप्रति आभार व्यक्त गरेका छन् ।

थापाको फेसबुक घोषणामा आधारित यो समाचारमा उठाइएका गुटबन्दी, विभेद र निर्वाचन प्रक्रियासम्बन्धी विषय उनका आरोप तथा असन्तुष्टिका रूपमा प्रस्तुत गरिएका छन् । 

प्रतिक्रिया