शनिवार, कार्तिक २१ गते २०८३

Saturday 7th November 2026

सिन्धुलीवासीलाई केएमसीमा ५० प्रतिशतसम्म उपचार छुट

शनिवार , कार्तिक २१, २०८३

सिन्धुली,२१ कात्तिक – सिन्धुलीका नागरिकलाई उपचारमा सहुलियत उपलब्ध गराउन काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड र नेपाली काँग्रेसको कमलामाई नगर समितिबीच सम्झौता भएको छ । शुक्रबार भएको सम्झौताअनुसार नेपाली काँग्रेसको कमलामाई नगर समितिको सिफारिस लिएर जाने बिरामीले भक्तपुरको दुवाकोटस्थित केएमसीमा ५० प्रतिशत, काठमाडौंको सिनामंगलस्थित केएमसीमा २५ प्रतिशत र विराटनगरको नोबेल अस्पतालमा २० प्रतिशत छुट पाउनेछन् ।

सरकारबाट उपलब्ध स्वास्थ्य बिमा, विपन्न नागरिक औषधोपचार कोषलगायत सुविधा पूर्ण रूपमा उपयोग गरिसकेपछि पनि उपचार जारी राख्नुपर्ने बिरामीलाई सम्झौताले समेटेको छ । बिमामा आबद्ध नभएका तथा बिमा गराए पनि सक्रिय हुनुअघिको अवधिमा उपचार आवश्यक पर्ने बिरामीले समेत सहुलियत पाउनेछन् । सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीलाई प्राथमिकतासाथ उपचार गर्ने उद्देश्यसमेत उल्लेख छ ।

सहुलियतका लागि नगर समितिको सिफारिस वा सम्बन्धित ह्वाट्सएप समूहबाट सिफारिस लिनुपर्नेछ । सम्झौतामा उल्लेख छ, “यो सुविधा प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवाहरूमा मात्र लागू हुनेछ ।”

बहिरंग बिरामी दर्ता कार्ड निःशुल्क हुनेछ । विस्तृत शुल्क सूचीअनुसार सामान्य शय्या, आईसीयू, एचडीयू, सीसीयू, शल्यकक्ष र प्रयोगशाला सेवामा २५ प्रतिशत छुट हुनेछ । फिल्म शुल्कबाहेक सीटी तथा एमआरआई, एक्सरे, अल्ट्रासाउन्ड, दन्त एक्सरे, ओपीजी–पानोरामिक, ईसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी र एनपीएल प्रक्रियामा पनि २५ प्रतिशत सहुलियत तोकिएको छ ।

इको, टीएमटी, होल्टर, एबीपीएम, ईईजी, एनसीटी, एनएसटी, फिजियोथेरापी तथा ईआरसीपी र एमआरसीपीमा समेत २५ प्रतिशत छुट हुनेछ । दाँतको स्केलिङ, आरसीटी, फिलिङ र प्रोस्थेसिस उपचारमा सामग्रीको लागतबाहेक यही दर लागू हुनेछ ।

आईभीएफ, प्लास्टिक तथा कस्मेटिक सर्जरी, प्रत्यारोपण, न्युरो इन्टरभेन्सन, क्याबिनमा बसेर गरिने उपचार, औषधि, इम्प्लान्ट, शल्यक्रिया तथा अन्य खपत हुने चिकित्सकीय सामग्रीमा छुट उपलब्ध हुने छैन । क्याथल्याबअन्तर्गत एन्जियोग्राम, एन्जियोप्लास्टी, इन्टरभेन्सन तथा स्टेन्ट, गाइडवायर र बेलुनलगायत सामग्री पनि छुटको दायराबाहिर छन् ।

सम्झौता २०८३ कात्तिक २१ देखि २०८४ असार मसान्तसम्म लागू हुनेछ । आपसी सहमतिमा प्रावधान परिमार्जन तथा अवधि निरन्तर गर्न सकिनेछ ।

डा. सुनिल शर्माको उपीस्थतिामा केएमसीका प्रशासन प्रमुख नारायण दाहाल र काँग्रेस कमलामाई नगर सभापति समुन्द्र श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । केएमसीकी जनसम्पर्क प्रमुख सुधा कट्टेल (केबिना) र नेपाली काँग्रेस कमलामाई नगर सचिव बलराम अधिकारी रोहबरमा छन् । गुणस्तरीय स्वास्थ्य सेवासँगै चिकित्सा, नर्सिङ र दन्त शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत सहुलियत उपलब्ध गराउने जनाएको छ ।

1.jpg

2.jpg
undefined

प्रतिक्रिया