शुक्रवार, कार्तिक २० गते २०८३

Friday 6th November 2026

सिन्धुलीका बजारदेखि गाउँबस्तीसम्म तिहारको रौनक

शुक्रवार , कार्तिक २०, २०८३

सिन्धुली,२० कात्तिक — नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै सिन्धुलीका बजार तथा ग्रामीण बस्तीमा चाडपर्वको उल्लास छाएको छ । जिल्लाको सदरमुकाम सिन्धुलीमाढीदेखि भिमान,कपिलाकोट, दुधौली, खुर्कोट र चकमकेलगायतका प्रमुख बजारमा तिहार लक्षित सजावट, किनमेल र व्यापारिक गतिविधि बढेका छन् । घर, पसल तथा सार्वजनिक क्षेत्र रंगीन बत्ती र कृत्रिम फूलले सजाइएपछि जिल्लाका बजार क्षेत्र साँझपख झनै आकर्षक देखिन थालेका छन् ।

तिहारलाई फूल र उज्यालोको पर्वका रूपमा मनाउने परम्पराअनुसार सर्वसाधारणले घरआँगनदेखि व्यापारिक प्रतिष्ठानसम्म सजाउने क्रम तीव्र बनाएका छन् । विशेषगरी सिन्धुलीमाढी बजारमा प्लास्टिकका फूल, विद्युतीय बत्ती तथा पूजाआजाका सामग्री खरिद गर्ने ग्राहकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । साँझको समयमा विभिन्न रंगका बत्तीले बजारका सडक र पसल झकिझकाउ देखिन थालेका छन् ।

धार्मिक आस्थाका आधारमा पूजा गर्ने समुदायसँगै अन्य जाति, धर्म र समुदायका नागरिकले पनि तिहारमा घरपरिसर उज्यालो बनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् । घर वरिपरि दीप प्रज्वलन गर्ने र विद्युतीय बत्ती बालेर सजाउने प्रचलनका कारण यस वर्ष पनि विद्युतीय सामग्रीको माग बढेको व्यवसायीहरूले बताएका छन् । सिन्धुलीमाढीका एक इलेक्ट्रोनिक्स व्यवसायीका अनुसार तिहार नजिकिएसँगै बत्ती खरिद गर्ने ग्राहकको संख्या बढेको छ । उनका अनुसार विद्युतीय बत्ती किन्न पसलमा बिहानदेखि साँझसम्म ग्राहकको आवागमन हुने गरेको छ ।

सिन्धुलीमाढी बजारमा विभिन्न रंग र आकारका कृत्रिम फूलले पनि आकर्षण थपेका छन् । बजारका पसल तथा आसपासका क्षेत्र फूलले सजिँदा समग्र बजारको स्वरूप नै परिवर्तन भएको छ । यस्तै, कमलामाई नगरपालिका–६ स्थित मधुटार जोड्ने पुलको मुखमा पाला बिक्री गर्दै आएका शिवलाल शाहलाई समेत मागअनुसार बिक्री गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि साँझसम्म माटाका पाला खरिद गर्ने ग्राहकको भीड लाग्ने गरेको शाहले बताए। तिहारको तयारीसँगै परम्परागत रूपमा प्रयोग हुँदै आएका पालाको माग बढेको उनको भनाइ छ ।

चाडपर्वको चहलपहल बजारमा मात्र सीमित छैन । तिहार मनाउन घर फर्किने तथा आफन्तकहाँ जाने यात्रुको संख्या बढेपछि स्थानीय र लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा समेत यात्रुको चाप देखिन थालेको छ ।

यसैबीच, प्रहरीले तिहारका अवसरमा हुन सक्ने विस्फोटजन्य पदार्थको प्रयोग र कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । पटका तथा अन्य विस्फोटक सामग्री प्रयोगमा प्रतिबन्ध रहे पनि भारतसँगको खुला सिमानाका कारण विभिन्न नाकाबाट यस्ता सामग्री सिन्धुलीका बजारसम्म आइपुग्ने गरेको पाइएको छ । विशेषगरी नेपाल–भारत सीमावर्ती सम्सी नाका नजिक पर्ने भएकाले त्यहाँबाट पटका भित्रिने जोखिम रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी  प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठका अनुसार प्रहरीले अवैध पटका तथा विस्फोटक सामग्रीको ओसारपसार नियन्त्रणका लागि निगरानी बढाएको छ । विगतका वर्षमा बर्दिबास हुँदै सिन्धुलीसम्म विस्फोटक पदार्थ भित्रिएको घटनालाई ध्यानमा राख्दै प्रहरीले तिहार आउनुभन्दा एक साताअघिदेखि नै बीपी राजमार्गमा सवारीसाधन जाँचमा कडाइ गरेको छ ।

प्रहरीले पटका, आतसबाजी, झिरझिरे र भुइँचम्पाजस्ता विस्फोटजन्य सामग्रीको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै यस्ता सामग्रीको निकासी, ओसारपसार तथा बिक्रीवितरण नगर्न पनि प्रहरीले सचेत गराएको छ । चाडपर्वको उल्लासलाई सुरक्षित र व्यवस्थित बनाउन नागरिकले समेत  सचेत हुनुपर्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया