सिन्धुली,१५ कात्तिक — सिन्धुलीको फिक्कल गाउँपालिका–६, तीनखण्डेस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
सिन्धुली प्रहरीका अनुसार आइतवार साँझ करिब ५ः२५ बजे घुर्मीदेखि खाङसाङतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ख ०६४७ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाका बेला टिपरमा चालकसहित चार जना सवार थिए ।
दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७, टक्सार निवासी २९ वर्षीय चालक महेश कटेल र सिन्धुलीको फिक्कल गाउँपालिका–५ निवासी २९ वर्षीय माधव लुइँटेल गम्भीर घाइते भएका छन् । दुवैको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
त्यसैगरी, उदयपुरको कटारी नगरपालिका–१४, बोटेनी निवासी २६ वर्षीय दीपक जोशी र सिन्धुलीको दुधौली नगरपालिका–१४, काभ्रे निवासी २८ वर्षीय हरि बानियाँ घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको र टाउको तथा शरीरमा चोट लागेको बताइएको छ । चारै जनालाई उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा पठाइएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी रत्नावतीबाटा प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनाका कारण मध्यपहाडी लोकमार्गको यातायात सञ्चालनमा कुनै अवरोध नरहेको प्रहरीले स्पष्ट पारेको छ ।