बुधवार, कार्तिक १२ गते २०८३

Wednesday 28th October 2026

सिन्धुलीमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा दुई जना घाइते

बुधवार , कार्तिक १२, २०८३


सिन्धुली,११ कात्तिक – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुल्कोटनजिक तीन सवारीसाधन एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ भने पछाडि सवार एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्राप्त विवरणअनुसार, मंगलवार बिहान करिब ४ बजेर १५ मिनेटमा विराटनगरबाट काठमाडौँतर्फ जादै गरेको बा.प्र.०२–०५५ प ७६७२ नम्बरको मोटरसाइकलले काठमाडौँबाट बर्दिबासतर्फ आउदै गरेको कुरियर सामान बोकेको बा.प्र.०६–००१ क ०१४९ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । काठमाडौँ महानगरपालिका–७ निवासी करिब १९ वर्षीय अनिश साहले चलाएको उक्त मोटरसाइकल ट्रकसँग ठोक्किएपछि सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०१–०३३ च ९९२६ नम्बरको बोलेरो गाडीले समेत ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो ।

बोलेरो गाडी सर्लाहीको हरिवन नगरपालिका–२ निवासी करिब २५ वर्षीय गिरेन्द्रप्रसाद मैनालीले चलाएका थिए । ट्रक चालक काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ निवासी करिब ३६ वर्षीय सन्तोष मैनाली हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक साहको टाउको र दाहिने हातमा चोट लागेको छ । मोटरसाइकलको पछाडि सवार मोरङको विराटनगर महानगरपालिका–७ निवासी करिब ३१ वर्षीय सञ्जीव बिष्टको दाहिने घुँडा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । 

दुर्घटनाबाट मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ । ट्रकको अगाडिको सिसा र बोनटको जालीमा क्षति भएको छ भने बोलेरोको अगाडिको बोनटलगायत विभिन्न भागमा क्षति पुग्दा उक्त गाडी चलाउन नसकिने अवस्थामा पुगेको छ ।

घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी रातामाटाबाट प्रहरी हवल्दार धर्मेन्द्र मैनालीको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी चौकी रातामाटाबाट करिब सात किलोमिटर पूर्व पर्ने दुर्घटनास्थलबाट मोटरसाइकल र बोलेरो गाडीलाई रातामाटास्थित प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ । ट्रक र त्यसका चालकलाई भने इलाका प्रहरी कार्यालय खुर्कोटको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया