सिन्धुली,२९ असोज – विद्यालयमा हुन सक्ने सम्भावित विपद् तथा अन्य जोखिमबाट विद्यार्थी र शिक्षकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सिन्धुलीमाढीमा आयोजित बृहत् विद्यालय सुरक्षा तथा जोखिम न्यूनीकरणसम्बन्धी चारदिने तालिम सम्पन्न भएको छ । विद्यालयलाई सुरक्षित सिकाइस्थलका रूपमा विकास गर्न आवश्यक पूर्वतयारी, जोखिम पहिचान र आपत्कालीन प्रतिकार्यका विषयमा केन्द्रित तालिम बिहीबार सम्पन्न भएको हो ।
‘सशक्त बालिकाः सुरक्षित समाज परियोजना’ अन्तर्गत सञ्चालित तालिममा सिन्धुली जिल्लाका ६ वटा स्थानीय तहअन्तर्गतका २० वटा विद्यालयका शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । असोज २६ गतेदेखि सुरु भएको तालिम २९ गतेसम्म सञ्चालन गरिएको हो । विद्यालयको दैनिक शैक्षिक गतिविधिसँगै सम्भावित विपद्को सामना गर्न आवश्यक ज्ञान र व्यावहारिक सीप विकासलाई तालिमको प्रमुख विषय बनाइएको थियो ।
प्लान इन्टरनेसनलको साझेदारी तथा स्थानीय सरकार र सम्बन्धित निकायको समन्वयमा मानव तथा राष्ट्रिय विकास समाज (ह्यान्ड्स नेपाल) र जेएसडीपी, सिन्धुली को संयुक्त रूपमा तालिम आयोजना गरेका हुन् । विद्यालय सुरक्षाका विभिन्न पक्षलाई समेटेर सञ्चालन गरिएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण, विद्यालय सुरक्षा रणनीति तथा आपत्कालीन पूर्वतयारीसम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
तालिममा विद्यालयभित्र उत्पन्न हुन सक्ने जोखिमको पहिचान, जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानी तथा आपत्कालीन अवस्थामा आवश्यक पर्ने तयारीका विषयलाई प्राथमिकता दिइएको थियो । विद्यालय सुरक्षाको अवधारणालाई केवल भौतिक संरचनाको संरक्षणमा सीमित नराखी विद्यार्थी, शिक्षक तथा विद्यालय समुदायको समग्र सुरक्षासँग जोडेर बुझ्नुपर्ने विषयसमेत तालिमको सन्दर्भमा महत्वपूर्ण रहेको छ ।
विपद्का समयमा विद्यालयको नियमित पठनपाठन प्रभावित हुन सक्ने भएकाले सम्भावित जोखिमबारे पूर्वजानकारी र आवश्यक तयारीलाई शैक्षिक संस्थाको सुरक्षा व्यवस्थापनसँग जोडेर हेर्ने गरिन्छ । विशेषगरी विद्यार्थीको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषयमा शिक्षकहरूको क्षमता अभिवृद्धिले विद्यालयस्तरमा जोखिम न्यूनीकरणका प्रयासलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिमको महत्वपूर्ण पक्षका रूपमा सैद्धान्तिक जानकारीसँगै व्यावहारिक अभ्यासलाई पनि समावेश गरिएको थियो । यसअन्तर्गत सिन्धुलीस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यालय सुरक्षा तथा विपद् प्रतिकार्यसम्बन्धी सिमुलेसन अभ्यास सञ्चालन गरिएको थियो । उक्त अभ्यासमार्फत विपद्जन्य परिस्थितिमा अपनाउनुपर्ने प्रतिकार्यका विषयलाई व्यवहारसँग जोडेर सिकाइ गराइएको हो ।
आपत्कालीन परिस्थितिमा पूर्वतयारीको महत्व बुझाउन र तालिममा समेटिएका विषयलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्न यस्तो अभ्यास उपयोगी मानिन्छ । विद्यालयमा सम्भावित जोखिमको सामना गर्दा आवश्यक पर्ने सजगता, समन्वय र प्रतिकार्यको अवधारणालाई व्यवहारमा उतार्ने सन्दर्भमा अभ्यासले विशेष महत्व राखेको छ ।
विभिन्न स्थानीय तहका विद्यालयबाट शिक्षक–शिक्षिकाको सहभागिता रहेकाले तालिममा समेटिएका सुरक्षा तथा जोखिम न्यूनीकरणसम्बन्धी विषयलाई सम्बन्धित विद्यालयसम्म पु¥याउने अवसरसमेत सिर्जना भएको छ । विद्यालय तहमा सुरक्षासम्बन्धी सचेतना विस्तार, जोखिमको पूर्वमूल्यांकन र आपत्कालीन तयारीको आवश्यकता बुझाउन शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहने गर्दछ ।
बालबालिकाका लागि सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यसँग जोडिएको यस तालिमले विद्यालय सुरक्षा र विपद् जोखिम न्यूनीकरणलाई संस्थागत तयारीको विषयका रूपमा अघि सारेको छ । चारदिने कार्यक्रमको समापनसँगै सहभागी विद्यालयमा सिकाइएका विषयको व्यावहारिक उपयोग र सुरक्षासम्बन्धी पूर्वतयारीलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ ।