अर्घाखाँची,२५असोज – अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरास्थित सन्धिखर्क–तम्घास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । बल्कोटबाट सन्धिखर्कतर्फ रोलर लोड गरी जाँदै गरेको लु.४ त ७९१७ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आएको लु.७२ प २०६३ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेतर्फ पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टरका सहचालक पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमडीका करिब २२ वर्षीय गणेश रास्कोटी मगर ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका थिए। जेसीबीको सहायताले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पु¥याइएका उनलाई चिकित्सकले दिउँसो १२ बजेर १० मिनेटमा मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २६ वर्षीय पुण्यप्रसाद थारु घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ ।
मोटरसाइकल चालक छत्रदेव गाउँपालिका–४ केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल रहेका छन् । दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ । प्रहरीले घटनास्थल पुगेर उद्धार तथा अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानमा ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेको र सवारी चालक अनुमतिपत्रसमेत नभएको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।