आइतवार, आश्विन २५ गते २०८३

Sunday 11th October 2026

दाङमा जंगली च्याउ खाँदा ३ वर्षीया बालिकाको मृत्यु

शनिवार , आश्विन २४, २०८३

दाङ,२४ असोज — जंगली च्याउ सेवनबाट बिरामी परेकी दाङको गढवा गाउँपालिका–१, वनघुस्रीकी ३ वर्षीया लक्ष्मी माझीको मृत्यु भएको छ । उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए ।

बिरामी परेका आमा र छोरीलाई सुरुमा उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएकाले बालिका लक्ष्मीलाई लमही अस्पताल पु¥याइएको थियो ।

प्रहरी नायब उपरीक्षक केसीका अनुसार लमही अस्पतालमा उपचारका लागि पु¥याइएकी लक्ष्मीलाई गएराति चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जंगली च्याउ सेवनबाट बिरामी परेकी आमा सुमित्राको भने उपचारपछि स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया