आइतवार, आश्विन २५ गते २०८३

Sunday 11th October 2026

बीपी राजमार्गमा ७ घण्टा जाम, सांसद भन्छनः ‘सबै ठीक छ’

शनिवार , आश्विन २४, २०८३

सिन्धुली,२४ असोज – दसैँमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला बीपी राजमार्गको रोशी खण्डमा लामो सवारी जाम भएको छ । सडकमा थुपारिएका निर्माण सामग्री, एकतर्फी यातायात सञ्चालन र यसअघि रोकिएका मालवाहक सवारीसाधनका कारण यात्रुले रोशी क्षेत्र पार गर्न मात्रै ६ देखि ७ घण्टासम्म कुर्नुपरेको छ ।

शुक्रवारेदेखि रोकिएका मालवाहक सवारीसाधनसमेत सडकमा थपिँदा यातायात व्यवस्थापन थप जटिल बनेको हो । दसैँका यात्रुको चाप बढिसकेको अवस्थामा सडकमा राखिएका निर्माण सामग्री समयमै व्यवस्थापन नगर्दा सवारीसाधनको लाम लागेको छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली क्षेत्र नं.२ बाट निर्वाचित सांसद आशिष गजुरेलले राजमार्गको अनुगमनपछि चौकीडाँडाबाट भिडियो सन्देश जारी गर्दै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा रहेको बताएका छन् । तर, यात्रुले घण्टौँ जाममा बस्नुपरेको अवस्थाले उनको भनाइ र सडकको वास्तविक अवस्थाबीच अन्तर देखाएको छ ।

चाडपर्वको बढ्दो सवारी चापलाई ध्यानमा राखेर यातायात सहज बनाउनुपर्ने सडक डिभिजन भक्तपुरले पर्याप्त चासो नदेखाएको गुनासो उठेको छ । सडकमा थुपारिएका निर्माण सामग्री हटाउने तथा एकतर्फी यातायातलाई व्यवस्थित गर्ने विषयमा प्रभावकारी पहल नहुँदा यात्रुले सास्ती भोग्नुपरेको हो ।

सांसदको अनुगमन र यातायात सामान्य रहेको सार्वजनिक सन्देशका बाबजुद यात्रुले भोगेको कठिनाइले राजमार्गको वास्तविक व्यवस्थापनमाथि प्रश्न उठाएको छ । दसैँमा घर फर्किने यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल सडक व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया