सिन्धुली,२४असोज – नेपालीहरूको महान् सांस्कृतिक पर्व बडादशैं नजिकिँदै गर्दा सिन्धुलीमाडी बजारमा चाडपर्वको रौनक बढेको छ । दशैंको तयारीसँगै किनमेल गर्ने सर्वसाधारणको चाप बढेपछि स्थानीय व्यापारिक गतिविधि चलायमान बनेको छ । शनिबार लागेको साप्ताहिक हाटबजारमा देखिएको उल्लेख्य चहलपहलले चाडपर्वको उत्साह झल्काए पनि अव्यवस्थित पार्किङ, हिलाम्मे सडक र पैदलयात्रीको सुरक्षासम्बन्धी चुनौतीसमेत उजागर गरेको छ ।
वर्षभरिको व्यस्तता, दुःख र संघर्षबाट केही समय विश्राम लिएर परिवारसँग खुसी साट्ने पर्वका रूपमा मनाइने दशैंका लागि आवश्यक सामग्री खरिद गर्न सिन्धुलीमाडीमा उपभोक्ताको भीड बढेको हो । लत्ताकपडा, खाद्यान्न, तरकारी, फलफूल, पूजासामग्री तथा घरायसी सामान किन्नेहरूको उपस्थितिले बजारका व्यापारिक क्षेत्र व्यस्त बनेका थियो ।
ग्रामीण भेगबाट आफ्ना कृषि उत्पादन बिक्री गर्न आएका किसान, साना व्यापारी तथा स्थानीय उपभोक्ताको सहभागिताले शनिवारे हाटको आर्थिक गतिविधिलाई थप गति दिएको छ । स्थानीय उत्पादनको किनबेचसँगै ग्रामीण अर्थतन्त्र र बजारबीचको व्यापारिक सम्बन्ध पनि सक्रिय देखिएको छ ।
तर, चाडपर्वको उत्साहबीच बजारको भौतिक अवस्था र व्यवस्थापकीय कमजोरी चिन्ताको विषय बनेको ् थियो । शुक्रबार राति परेको भारी वर्षाका कारण हाटबजारका विभिन्न स्थानमा पानी जमेको थियो । सडक तथा पैदलमार्ग हिलाम्मे र चिप्लो हुँदा किनमेलका लागि आएका सर्वसाधारणले आवतजावतमा कठिनाइ भोग्नुपरेको थियो ।
प्रतिकूल मौसमका बाबजुद टाढाटाढाका बस्ती र ग्रामीण क्षेत्रबाट उपभोक्ता बजार पुगेका थिए । विशेषगरी सिन्धुलीमाडीको १ नम्बर बजार र गैरी बजार क्षेत्रमा किनमेल गर्नेहरूको बाक्लो उपस्थिति देखिएको थियो ।
बजारमा सर्वसाधारणको चाप बढेसँगै सडक व्यवस्थापनको समस्या पनि स्पष्ट देखिएको छ । सडकछेउमा जथाभाबी पार्किङ गरिएका मोटरसाइकल तथा अन्य सवारीसाधन, पैदलयात्रीको बाक्लो आवागमन र सडक क्षेत्रमै सञ्चालित व्यापारले यातायात सञ्चालनमा असहजता थपेको थियो ।
साप्ताहिक हाट लाग्ने दिन सवारीसाधन र पैदलयात्रीको संख्या बढ्नु स्वाभाविक भए पनि त्यसअनुसार सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रभावकारी हुन आवश्यक छ । विशेषगरी चाडपर्वको समयमा बढ्ने भीडलाई ध्यानमा राखेर सुरक्षित पैदलमार्ग, व्यवस्थित पार्किङ र निर्बाध आवागमनको व्यवस्था मिलाउनु चुनौतीपूर्ण देखिएको छ ।
सडक क्षेत्रमै व्यापार, सवारी पार्किङ र पैदल आवागमन एकैसाथ हुँदा दुर्घटनाको सम्भावना बढ्न सक्छ । त्यसमा वर्षाका कारण जमेको पानी, हिलो र चिप्लो सतहले थप जोखिम निम्त्याउने अवस्था छ ।
यस्तो परिस्थितिमा दुर्घटना भइसकेपछि मात्र जिम्मेवारी खोज्नुभन्दा सम्भावित जोखिमको समयमै पहिचान गरी रोकथामका उपाय अपनाउनु आवश्यक देखिन्छ ।
स्थानीय तह, ट्राफिक प्रहरी तथा सम्बन्धित सुरक्षा निकायबीच समन्वय गरी हाटबजारका लागि निश्चित पार्किङ क्षेत्र तोक्ने, अनियन्त्रित पार्किङ रोक्ने, सडक तथा पैदलमार्ग खुला राख्ने र वर्षाको पानी निकासको प्रभावकारी व्यवस्था मिलाउनुपर्ने आवश्यकता देखिएको छ ।
शनिवारे हाट सिन्धुलीको स्थानीय व्यापार, कृषि उत्पादनको बजारीकरण तथा ग्रामीण अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण व्यापारिक केन्द्र हो। यसको बढ्दो चहलपहल आर्थिक सक्रियताको सकारात्मक संकेत भए पनि नागरिकको सहज आवागमन र सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारीलाई बेवास्ता गर्न मिल्दैन ।
दशैंको किनमेलका लागि बजार पुग्ने नागरिकले हिलो, अव्यवस्थित सडक र दुर्घटनाको जोखिम सामना गर्नुपर्ने अवस्था अन्त्य हुनु आवश्यक छ । बजारको सफलता उपभोक्ताको भीडले मात्र होइन, उपलब्ध सुविधा, व्यवस्थित सञ्चालन र सुरक्षित वातावरणले पनि निर्धारण गर्छ ।
सिन्धुलीमाडीको शनिवारे हाटमा देखिएको अवस्थाले चाडपर्वलक्षित बजार व्यवस्थापनमा सम्बन्धित निकायको समयमै ध्यान पुग्नुपर्ने आवश्यकता औंल्याएको छ । सम्भावित दुर्घटना रोक्न पूर्वतयारी र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनु अपरिहार्य देखिएको छ ।