आइतवार, आश्विन २५ गते २०८३

Sunday 11th October 2026

सिन्धुलीमा लागुऔषध सेवन गरेका ३ जना चालक पक्राउ

शनिवार , आश्विन २४, २०८३

सिन्धुली,२४ असोज — चाडपर्वका बेला सडक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले बीपी राजमार्गमा गरिएको सवारी चालकको लागुऔषध परीक्षणका क्रममा ३ जना चालक पक्राउ परेका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोट तल्लो बजारको रिफ्रेस सेन्टरअगाडि गरिएको परीक्षणमा उनीहरूले लागुऔषध सेवन गरेको प्रारम्भिक नतिजा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रवार ट्राफिक प्रहरीसहितको प्रहरी टोली र जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट खटिएका स्वास्थ्यकर्मीको संयुक्त टोलीले राजमार्गमा आवतजावत गर्ने यात्रुवाहक सवारीसाधन रोकेर चालकहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा चालकहरूको पिसाबको नमुना संकलन गरी टीएचसी र्‍यापिड टेस्ट क्यासेटमार्फत जाँच गर्दा ३ जनाको नतिजा पोजिटिभ देखिएको जिल्ला प्रहरीले जनाएको छ।


परीक्षणमा लागुऔषध सेवनको संकेत देखिएका तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट २०८३ असोज २३ गतेदेखि लागू हुने गरी १५ दिनको म्याद थप गरिएको छ।  प्रहरीका अनुसार पक्राउ परेका चालकहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया