बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

‘हनी ट्रयाप’मार्फत आर्थिक शोषण गरेको आरोपमा युवती पक्राउ

सोमवार , आश्विन १२, २०८३

                                                                फोटो Ai

बाँके ,१२ असोज –  प्रेम सम्बन्ध र भावनात्मक विश्वासको आवरणमा एक पुरुषलाई ‘हनी ट्रयाप’मा पारी नगद तथा जिन्सी सामान असुलेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले अनुसन्धानका क्रममा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौंमा बस्दै आएकी ३० वर्षीया युवतीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकी युवती श्रेष्ठ थरकी हुन् । उनी काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रतितसिंह राठोरका अनुसार युवतीले बाँकेको बैजनाथ गाउँपालिका–२ निवासी ३२ वर्षीय एक पुरुषलाई पूर्वयोजनासहित प्रेम सम्बन्ध तथा शारीरिक सम्बन्धको जालमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार सम्बन्ध स्थापित भएपछि ती पुरुषलाई विभिन्न कानुनी मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धम्की दिई पटक–पटक नगद रकम तथा जिन्सी सामग्री लिएको आरोप छ । प्रहरीले उक्त घटनालाई ‘हनी ट्रयाप’मार्फत आपराधिक लाभ लिने प्रयासका रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउँदै आरोपित युवती केही समयदेखि फरार रहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई गत असोज ५ गते पक्राउ गरी सार्वजनिक गरिएको हो ।

प्रहरीले यस्ता घटनामा सामाजिक सञ्जाल, प्रेम सम्बन्ध वा व्यक्तिगत कमजोरीको दुरुपयोग गरी आर्थिक लाभ लिन खोज्ने गतिविधिमाथि निगरानी बढाउँदै आएको जनाएको छ । घटनासँग सम्बन्धित थप तथ्य अनुसन्धानका क्रममा खुल्दै जाने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया