बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

चार दलको सदस्यताबाट खुल्यो १३ दलको रहस्य

बुधवार , आश्विन २१, २०८३


काठमाडौँ,२१ असोज — एउटै व्यक्तिसँग एकै समयमा विभिन्न राजनीतिक दलको सदस्यता रहेको तथ्य सार्वजनिक भएपछि राजनीतिक दलहरूको सदस्यता वितरण प्रणाली, अभिलेख व्यवस्थापन र सदस्यताको वैधतामाथि प्रश्न उठेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ का खगेन्द्र प्रसाद तिमिल्सिनाको नाममा ४ राजनीतिक दलको सदस्यता रहेको विवरण सार्वजनिक भएसँगै यो विषय सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको हो ।

सार्वजनिक विवरणअनुसार तिमिल्सिनासँग नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता रहेको देखिएको छ । ती सदस्यतामध्ये सबै यही २०८३ सालमा लिइएको र तिनको समयावधि २०८४ सालसम्म रहेको उल्लेख छ । एउटै व्यक्तिले एकै अवधिमा फरक राजनीतिक विचारधारा र संगठनात्मक संरचना भएका ४ दलको सदस्यता लिएको विवरण बाहिरिएपछि सामाजिक सञ्जालमा उनको राजनीतिक आबद्धताबारे व्यापक टिप्पणी सुरु भएको छ ।

यो विषयलाई लिएर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यंग्यसमेत गरेका छन् । रञ्जित तामाङ नामका फेसबुक प्रयोगकर्ताले तिमिल्सिनाको बहुदलीय सदस्यतालाई संकेत गर्दै लेखेका छन्, “सक्नेले यसरी पनि राजनीति गर्छ । नसक्नेहरूले डाह गरेर हुन्छ ? ज्ञान समाप्त ।”

तर सार्वजनिक भएको ४ दलको सदस्यताको विवरणभन्दा विषय अझ फराकिलो रहेको दाबी स्वयं तिमिल्सिनाले गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो सदस्यतालाई लिएर आलोचना र ट्रोल हुन थालेपछि उनले बुधबार बिहान फेसबुकमार्फत प्रतिक्रिया दिँदै आफूसँग कम्तीमा १३ राजनीतिक दलको सदस्यता परिचयपत्र रहेको जानकारी दिएका छन् ।

तिमिल्सिनाले फेसबुकमा लेखेका छन्, “कमसेकम १३ दलको पार्टी सदस्यताको परिचयपत्र बोकेको व्यक्ति हुँ, तपाईंको मनमा स्वाभाविक रूपमा एउटा प्रश्न उठ्छ । आखिर म कुन दलको हुँ ? आज म स्पष्ट रूपमा भन्न चाहन्छु, अब अरू कुनै दलसँगको मेरो सदस्यताको सम्बन्ध रहनु आवश्यक छैन । मेरो मनले रोजेको, मेरो जिबन नै संघर्ष गरेको पार्टी नेकपा हो जिम्मेवारी उचित दिनुपर्छ यो म आग्रह गर्छ ु। मिडियालाई भ्रमित नहुन आग्रह गर्दछु ।”

यससँगै उनले अब अन्य दलसँगको सदस्यता सम्बन्ध आवश्यक नरहेको र आफू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मै रहने स्पष्ट पारेका छन् । तर उनको राजनीतिक दाबी सदस्यतामा मात्र सीमित देखिँदैन । बुधबार नै अर्को फेसबुक स्टाटस लेख्दै उनले नेकपाभित्र आफूले केन्द्रीय सदस्यको जिम्मेवारी पाउनुपर्ने मागसमेत गरेका छन् ।

“नेकपामा मेरो जिम्मेवारी केन्द्रीय सदस्य मा हुनुपर्छ त्यो भन्दा तल म बस्दैन सिधा कुरा”, उनले अर्को स्टाटसमा लेखेका छन् । तिमिल्सिनाको फेसबुक खातामा २७ हजार फलोअर्स छन् । उनले दिनमा दर्जनौँ पोस्ट गर्ने तथा विभिन्न सामग्री सेयर गर्ने गरेको देखिएको छ । यही सक्रियताका कारण उनको पार्टी सदस्यतासम्बन्धी विवरण पनि तीव्र रूपमा फैलिएको हो ।

एकै व्यक्तिको नाममा ४ दलको सदस्यता औपचारिक रूपमा देखिनु र स्वयं उसैले कम्तीमा १३ दलको सदस्यता परिचयपत्र आफूसँग रहेको दाबी गर्नुले राजनीतिक दलहरूको सदस्यता वितरण प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ । सदस्यता प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको अन्य दलसँगको आबद्धता जाँच गर्ने व्यवस्था कति प्रभावकारी छ, दलहरूको सदस्यता अभिलेख कति विश्वसनीय छ र एउटै व्यक्तिको बहुदलीय सदस्यता कानुनी तथा संगठनात्मक रूपमा कति वैध हो भन्ने विषयसमेत बहसमा आएको छ ।

तिमिल्सिनाको प्रकरणले राजनीतिक दलका सदस्यता प्रणालीमा प्रमाणीकरण, अभिलेखीकरण र जवाफदेहिताको आवश्यकता पुनः सतहमा ल्याएको छ ।

प्रतिक्रिया