सिन्धुली,२५ असोज – सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा व्यापारिक गतिविधिलाई व्यवस्थित र विस्तार गर्ने उद्देश्यले कमलामाइ नगरपालिकाले निर्माण गरेको कमलामाइ सिटी हल आइतवार सञ्चालनमा आएको छ । घटस्थापनाको शुभ अवसर पारेर उदघाटन गरिएको उक्त भवन आइतवारदेखि औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो ।
कमलामाइ नगरपालिकाले व्यापारिक प्रयोजनलाई केन्द्रमा राखेर निर्माण गरेको ३१ कोठे सिटी हलको उदघाटन नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले एक समारोहका बीच गरेको हो । स्थानीय बजारको आवश्यकता र बढ्दो व्यावसायिक गतिविधिलाई ध्यानमा राख्दै निर्माण गरिएको यस संरचनाले सिन्धुलीमाढीको व्यापारिक स्वरूपमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाको आफ्नै लगानी तथा नगर विकास कोषको सहकार्यमा निर्माण सम्पन्न भएको उक्त भवनमा कुल ११ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । भवन निर्माणका लागि कमलामाइ नगरपालिकाले ३० प्रतिशत लगानी गरेको छ भने बाँकी ७० प्रतिशत रकम नगर विकास कोषबाट ऋण सहयोगका रूपमा प्राप्त भएको हो ।
सार्वजनिक लगानीबाट निर्माण गरिएको यस व्यापारिक संरचनालाई निजी क्षेत्रको व्यवस्थापनमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । यसैक्रममा एके युनिभर्सल प्रा.लि.े उक्त भवनलाई १० वर्षका लागि लिजमा लिएको छ । लिज सम्झौतापछि कम्पनीले भवनको नाम परिवर्तन गरी ‘एके कम्प्लेक्स’ नामकरण गरेको छ र व्यापारिक प्रयोजनका लागि सञ्चालनमा ल्याएको हो ।
३१ वटा कोठा रहेको उक्त कम्प्लेक्समा विभिन्न प्रकारका व्यापारिक तथा सेवामूलक गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । नगर क्षेत्रमा आवश्यक पर्ने व्यवस्थित व्यापारिक स्थान उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको यो भवनले व्यवसायी, सेवाग्राही तथा स्थानीय बजारलाई प्रत्यक्ष रूपमा लाभ पु¥याउने विश्वास गरिएको छ ।
कमलामाइ नगरपालिकाले नगरभित्रको आर्थिक गतिविधि प्रवद्र्धन, व्यवस्थित व्यापारिक क्षेत्रको विकास र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढाएको योजनाअन्तर्गत सिटी हल निर्माण गरिएको हो । नगर विकास कोषको ऋण सहयोगसहित सम्पन्न भएको यो परियोजना स्थानीय तहबाट निर्माण गरिएको महत्वपूर्ण व्यापारिक पूर्वाधारका रूपमा लिइएको छ ।
घटस्थापनाको अवसर पारेर सञ्चालनमा ल्याइएको कमलामाइ सिटी हलले अब सिन्धुलीमाढीको व्यापारिक केन्द्रका रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सार्वजनिक लगानी, संस्थागत सहकार्य र निजी क्षेत्रको व्यवस्थापनबाट सञ्चालनमा आएको यस कम्प्लेक्सले नगरको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।