सोमवार, आश्विन २६ गते २०८३

Monday 12th October 2026

बीपी राजमार्गको पुनर्निर्मित सडकबाटै चल्न थाले सवारी

आइतवार , आश्विन २५, २०८३

सिन्धुली,२५असोज  – दुई वर्षअघि आएको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पुनर्निर्माण गरिएको सडकबाटै अहिले सवारी आवागमन सञ्चालन भइरहेको छ । दशैं पर्वलाई लक्षित गर्दै यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन सडक मर्मत तथा सुरक्षाका कामलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

विसं २०८१ असोजमा आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकतर्फ करिब ३० किलोमिटर सडक क्षतिग्रस्त भएपछि रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो । तर यही असोजको पहिलो सातादेखि परेको अविरल वर्षापछि आएको बाढीले उक्त डाइभर्सन बगाएपछि पुनर्निर्मित सडक ट्र्याकबाटै सवारी सञ्चालन गरिएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार केही साँघुरा स्थानमा डाइभर्सन प्रयोग गरी दुईतर्फी यातायात सञ्चालन गरिएको भए पनि अन्य अधिकांश क्षेत्रमा आवागमन सहज रहेको छ । उनका अनुसार चौकीडाँडा र पिन्थली क्षेत्रमा भिरालो भूभाग भएकाले मर्मतसँगै डाइभर्सनको व्यवस्था गरिएको छ भने डालाबेँसी–पिप्ले सडकखण्डको करिब २०० मिटर क्षेत्रमा पनि डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ ।

पुनर्निर्मित सडकबाट सवारी सञ्चालन भइरहेकाले हाल ठूलो जामको समस्या नरहेको कार्यालयले जनाएको छ । वर्षाका कारण माथिबाट लेदो वा पहिरो खसेर सडक अवरुद्ध भए आधादेखि केही घण्टाभित्रै खुलाउने गरी आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको योगेशले जानकारी दिए ।

“दशैंमा यात्रालाई सहज बनाउन थप मर्मत भइरहेको छ । वर्षाका कारण अवरोध आए पनि आधा घण्टाभित्र सडक खुलाउने गरी आवश्यक इक्युपमेन्ट स्ट्यान्डबाइ राखिएको छ,” उनले भने ।

असोज ८ गतेदेखि परेको निरन्तर वर्षाका कारण डाइभर्सन बग्नुका साथै पहिरो र लेदोका कारण बीपी राजमार्ग पाँच दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसपछि पुरानै सडक ट्र्याक पुनर्निर्माण गरी यातायात सञ्चालन गरिएको हो । पछिल्ला केही महिनादेखि पुनर्निर्माण कार्यलाई तीव्र बनाइएको थियो ।

काठमाडौँलाई नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै रोशी खोलाको बाढीले अस्थायी संरचना बगाउँदा पटक–पटक यातायात अवरुद्ध हुने गरेको थियो ।

कार्यालयले पुनर्निर्माण गरिएको ट्र्याकलाई वर्षायाममा पनि सकेसम्म सुरक्षित राख्ने योजना बनाएको छ । साविककै स्थानमा पुनर्निर्माण भएका अधिकांश खण्डबाट भदौदेखि नै सवारी सञ्चालन हुँदै आएको छ । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई भने उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरिएको छ ।

क्षतिग्रस्त क्षेत्रका अधिकांश भागमा ग्राभेलको काम सम्पन्न भएको छ भने केही स्थानमा ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ । वर्षायामअघि सडकलाई सात मिटर उचाइसम्म उठाएर ग्राभेल गरिएको छ । हिउँदमा खोलाबाट करिब १० मिटर उचाइसम्म सडक निर्माण गरी कालोपत्र गर्ने योजना रहेको छ । कतिपय स्थानमा आरसीसी वालको फाउन्डेसन निर्माण पूरा भई अन्य काम अघि बढिरहेको छ ।

पुनर्निर्माणपछि बीपी राजमार्गलाई स्तरोन्नति गर्दै दुई लेनको सडकका रूपमा विकास गर्ने योजना रहेको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट निर्माण सुरु भएको धुलिखेल–सिन्धुली–बर्दिवास १६० किलोमिटर लामो बीपी राजमार्ग विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया