सिन्धुली, २५ असोज – सिन्धुलीमा दुई छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–५ मुलकोटमा शुक्रबार दिउँसो करिब २ः५० बजे अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खाबाट मुलकोटतर्फ आउँदै गरेको मधेश प्रदेश ०४–०१ ह ०२५५ नम्बरको अटो चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ सित्खाका ३० वर्षीय नारायण कृष्ण श्रेष्ठले चलाएका थिए ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आइतवार दिएको अनुसार अटो दायाँ मोड्ने क्रममा सोही दिशाबाट आउँदै गरेको सिरहा लहान नगरपालिका–९ का १८ वर्षीय उज्वल मण्डलले चलाएको बा.प्र.०२–०५८ प ४४७२ नम्बरको मोटरसाइकलले अटोको चालक बस्ने भागतर्फको अगाडिको भागमा ठक्कर दिएको थियो । दुर्घटनामा अटो चालक श्रेष्ठ सामान्य घाइते भएका छन् भने मोटरसाइकल चालक मण्डलको दाहिने हात भाँचिएको छ । मोटरसाइकलको पछाडि सवार लहान नगरपालिका–९ कै १८ वर्षीय कनैया मण्डलको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवै मोटरसाइकल यात्रुको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचार भइरहेको थियो । पछि ५ः२५ बजे थप उपचारका लागि दुवै जनालाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा रिफर गरिएको छ । अटो चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर अटो, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी कमलामाई नगरपालिका–९ इनारपानीमा शुक्रबार साँझ करिब ६ः२० बजे इभी हायसको ठक्करबाट एक साइकल यात्री घाइते भएका छन् । मदन भण्डारी राजमार्गमा काठमाडौंबाट धनसरीतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०१२० नम्बरको इभी हायसले भिमान बजारबाट इनारपानीतर्फ जाँदै गरेका स्थानीय १४ वर्षीय सर्गम सुवेदीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा सुवेदीको दाहिने हात भाँचिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनलाई आर एन्ड के लाइफ केयर भिमानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मोडल अस्पताल लालगढ, धनुषा रिफर गरिएको छ ।
घटनापछि प्रहरी टोलीले हायस चालक र सवारी साधन प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।