काठमाडौं, २९ असोज – कास्कीको पोखरामा पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा चालक र पैदलयात्री दुवै जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोक नजिकै सिद्धार्थ राजमार्गमा बिहीबार बिहान उक्त दुर्घटना भएको हो । बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यसलगत्तै नियन्त्रण गुमाएको मोटरसाइकल सडकको बीचभागमा रहेको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पोखरा महानगरपालिका–१७ निवासी १९ वर्षीय मोटरसाइकल चालक सफलकुमार श्रेष्ठ र लमजुङ स्थायी घर भई हाल पोखरा–१७, बिरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल गम्भीर घाइते भएका थिए ।
दुर्घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पु¥याइएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दुर्घटनाको वास्तविक कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।