आइतवार, कार्तिक १५ गते २०८३

Sunday 1st November 2026

सिन्धुलीमा दुई दिनमै १४१ जनाले पाए नयाँ दृष्टि

आइतवार , कार्तिक १५, २०८३

सिन्धुली,१५ कात्तिक — दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सिन्धुलीमा सञ्चालन गरिएको दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरबाट १४१ जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँको संयुक्त आयोजनामा नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा सञ्चालित शिविरमा पहिचान भएका मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो ।

शिविरको पहिलो दिन शनिवार ८९ जना र दोस्रो दिन आइतवार ५२ जनाको शल्यक्रिया सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले जानकारी दिए । दुई दिनको अवधिमा जम्मा १४१ जना बिरामीले शल्यक्रियासहितको आँखा उपचार सेवा प्राप्त गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढाका स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकका लागि शिविर उपयोगी बनेको छ ।

शिविरमा कमलामाई नगरपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाका मोतिबिन्दुका बिरामीको  शल्यक्रिया  भएको थियो । स्थानीय तहका विभिन्न स्थानबाट आएका बिरामीलाई एउटै केन्द्रबाट विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको थियो ।

शल्यक्रियाका लागि तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँबाट वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अनु मानन्धर, डा. अमृत आचार्य र डा. रेजिना श्रेष्ठसहितको विशेषज्ञ तथा प्राविधिक टोली परिचालित भएको थियो । विशेषज्ञ चिकित्सक र प्राविधिक जनशक्तिको सहभागितामा बिरामीहरूको शल्यक्रिया सम्पन्न गरिएको हो ।

शिविरको व्यवस्थापन तथा बिरामीको हेरचाहमा विभिन्न सामाजिक संस्थाले समेत सहयोग गरेका थिए । शल्यक्रिया गरिएका सबै बिरामीका लागि सत्य साई संगठन सिन्धुलीका अध्यक्ष उर्मिला कर्माचार्यको नेतृत्वमा रहेको टोलीले दूध, बिस्कुट तथा बेलुकाको खानाको व्यवस्था गरेको थियो । उपचारपछि बिरामीलाई आवश्यक खानपान उपलब्ध गराउँदै टोलीले मानवीय सेवामा योगदान पु¥याएको थियो ।

यसैगरी, शिविरलाई प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटीका महेन्द्रझाडी, कल्पवृक्ष, कपिलाकोट, महादेवस्थान, भीमस्थान, लाम्पान्टार, भीमान तथा रानीबासका १३ र १४ उपशाखाले एकदिने मोतिबिन्दु छनोट शिविर सञ्चालन गरी सहयोग गरेका थिए । प्रारम्भिक छनोट तथा बिरामी पहिचानमा उपशाखाहरूको भूमिका महत्त्वपूर्ण रहेको थियो ।

आँखा परीक्षणका लागि आएका बिरामीको व्यवस्थापन, सेवा सहजीकरण तथा अन्य आवश्यक कार्यमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका पदाधिकारी, सदस्य र कर्मचारीहरूले स्वयंसेवकका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

विभिन्न सामाजिक संस्था, विशेषज्ञ चिकित्सक, प्राविधिक जनशक्ति र स्वयंसेवकको समन्वयमा सम्पन्न शिविरले सिन्धुलीका चार स्थानीय तहका १४१ जना नागरिकलाई मोतिबिन्दुको समस्याबाट राहत पाउने अवसर प्रदान गरेको छ ।

प्रतिक्रिया