आइतवार, कार्तिक १५ गते २०८३

Sunday 1st November 2026

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का रद्द, नयाँ प्रक्रिया अन्योलमा

शनिवार , कार्तिक १४, २०८३

काठमाडौं, १४ कात्तिक – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि अघि बढाएको बोलपत्र प्रक्रिया रद्द गरेको छ । आयोजनाले सार्वजनिक सूचना जारी गर्दै यसअघि आह्वान गरिएको ठेक्का रद्द गरिएको औपचारिक जानकारी दिएको हो ।

आयोजनाका अनुसार २०२६ जुन ८ मा प्रकाशित सूचनामार्फत उक्त निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिएको थियो । तर, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा २ मा रहेको व्यवस्थालाई आधार बनाउँदै बोलपत्र प्रक्रिया रद्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

आयोजना निर्देशकद्वारा जारी सूचनामा ठेक्का प्रक्रियामा सहभागी बोलपत्रदातालाई निर्णयका कारण पर्न गएको असुविधाप्रति क्षमायाचना गरिएको छ । यद्यपि, सार्वजनिक खरिद ऐनको उक्त व्यवस्थाअनुसार ठेक्का रद्द गर्नुपरेको उल्लेख गरिए पनि निर्णयका विस्तृत कारणबारे सूचनामा थप व्याख्या गरिएको छैन ।

यसअघि आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला आयोजनासँग सम्बन्धित उच्च अधिकारीमाथि प्रहरीले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले सिँचाइ विभागका महानिर्देशक र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुखलाई नियन्त्रणमा लिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया रद्द भएसँगै निर्माण कार्य अघि बढाउने आगामी प्रक्रियाबारे चासो बढेको छ । विशेषगरी नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला भएको प्रशासनिक घटनाक्रम र त्यसपछि आएको ठेक्का रद्दसम्बन्धी निर्णयले आयोजनाको कार्यान्वयन प्रक्रियालाई थप चासोको विषय बनाएको छ ।

तर, ठेक्का रद्द गर्ने निर्णय र यसअघि आयोजनाका अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेकोबारे आयोजनाको सार्वजनिक सूचनाले कुनै पुष्टि गरेको छैन । नयाँ बोलपत्र प्रक्रिया कहिले र कुन आधारमा अघि बढाइने भन्ने विषयमा पनि जारी सूचनामा खुलाइएको छैन ।

प्रतिक्रिया