शुक्रवार, कार्तिक १४ गते २०८३

Friday 30th October 2026

सुनकोशी–मरिण आयोजनाका निर्देशक रिजाल कार्यकक्षबाटै पक्राउ

शुक्रवार , कार्तिक १४, २०८३

 

सिन्धुली,१३ कात्तिक – राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णकुमार रिजाललाई प्रहरीले बिहीबार उनकै कार्यकक्षबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका लागि भन्दै उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । यद्यपि, प्रहरीले पक्राउको कारण र उनीमाथि अनुसन्धान भइरहेको मुद्दाबारे औपचारिक जानकारी दिएको छैन ।

आयोजनाको हेडवर्क र विद्युत् गृह निर्माणसम्बन्धी बाँकी कामको आर्थिक प्रस्ताव खोल्ने मिति नजिकिँदै गर्दा निर्देशक रिजाल पक्राउ परेपछि घटनालाई चासोका साथ हेरिएको छ । आयोजनाले आगामी सोमबार आर्थिक टेन्डर खोल्ने कार्यतालिका सार्वजनिक गरेको थियो । यही प्रक्रियाको पूर्वसन्ध्यामा पक्राउ हुनुलाई टेन्डर प्रक्रियामा दबाब सिर्जना गर्ने उद्देश्यसँग जोडेर समेत आकलन गरिएको छ । तर पक्राउ र टेन्डर प्रक्रियाबीच कुनै सम्बन्ध रहेको पुष्टि गर्ने आधिकारिक आधार भने सार्वजनिक भएको छैन ।

आयोजनाको बाँकी निर्माण कार्यका लागि आह्वान गरिएको बोलपत्रमा ६ वटा कम्पनीले आवेदन दिएका थिए । तीमध्ये प्राविधिक मूल्यांकनबाट ३ वटा कम्पनी छनोट भएका छन् । प्राविधिक परीक्षण उत्तीर्ण गर्नेमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन बेइजिङ, अन्नेग आरसिसी जेभी र सिन्नोहाइड्रो कर्पोरेसन चाइना रहेका छन् । यी कम्पनीमध्ये एउटाले आर्थिक प्रस्तावमा सफलता पाउने निश्चित रहेको स्रोतको आकलन छ ।

आयोजनाले आर्थिक प्रस्ताव खोल्ने मितिबारे असोज २७ गते ‘द राइजिङ नेपाल’ दैनिकमा सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार आगामी सोमबार आर्थिक टेन्डर खोल्ने तयारी गरिएको थियो ।

निर्देशक रिजालको पक्राउबारे आयोजना कार्यालयसमेत अनभिज्ञ रहेको जनाएको छ । आयोजनाका सूचना अधिकारी अशोकराज गौतमले प्रहरी टोलीले कार्यालयबाटै रिजाललाई लिएर गएको विषयमा आफूहरूले तत्काल जानकारी नपाएको बताए । “कार्यालयबाटै लगिएछ, हामीले पनि थाहा पाएनौं, पछि मात्र थाहा भयो,” गौतमले भने ।

गौतमका अनुसार आयोजना प्रमुख वा आयोजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य निकायमा कुनै मुद्दा रहेको जानकारी कार्यालयलाई छैन । प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएको बताए पनि घटनाको प्रकृति, अनुसन्धानको विषय र पक्राउको औपचारिक आधार खुलाएको छैन । 

प्रतिक्रिया