शुक्रवार, कार्तिक १४ गते २०८३

Friday 30th October 2026

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, अर्थतन्त्रको ४५.५९ प्रतिशत पुग्यो

शुक्रवार , कार्तिक १४, २०८३

काठमाडौँ,१३ कात्तिक – नेपालको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको प्रतिवेदनअनुसार सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । यो नेपालको कुल अर्थतन्त्रको आकारको ४५.५९ प्रतिशत बराबर हो ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा १५ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यो कुल ऋणको ५३.१३ प्रतिशत हो । त्यस्तै, आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, जुन कुल सार्वजनिक ऋणको ४५.५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सरकारले १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ थप ऋण परिचालन गरेको छ । यस अवधिमा १ खर्ब रुपैयाँ आन्तरिक र २३ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक ऋण लिइएको छ । सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।

अर्थतन्त्रको आकारसँग तुलना गर्दा वैदेशिक ऋणको अनुपात २४.२२ प्रतिशत र आन्तरिक ऋणको अनुपात २१.३७ प्रतिशत पुगेको छ । यसले मुलुकको अर्थतन्त्रमा सार्वजनिक ऋणको भार थपिँदै गएको देखाउँछ ।

तीन महिनामा ९९ अर्ब ऋण भुक्तानी

सरकारले नयाँ ऋण परिचालनसँगै पुरानो ऋणको साँवा र ब्याज भुक्तानीलाई पनि निरन्तरता दिएको छ । असोज मसान्तसम्म सरकारले करिब ९९ अर्ब रुपैयाँ ऋण भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा उल्लेख छ ।

यस अवधिमा आन्तरिक ऋणतर्फ ८२ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी भएको छ । त्यसमा ६५ अर्ब १० करोड रुपैयाँ साँवा र १७ अर्ब ६३ करोड रुपैयाँ ब्याज रहेको छ । त्यस्तै, वैदेशिक ऋणतर्फ १६ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ । यसमध्ये १२ अर्ब ६४ करोड रुपैयाँ साँवा र ३ अर्ब ४९ करोड रुपैयाँ ब्याज भुक्तानी भएको हो ।

चालु आर्थिक वर्षमा सरकारले कुल ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ ऋण भुक्तानी गर्ने लक्ष्य निर्धारण गरेको छ । असोजसम्म भएको ऋण भुक्तानी अर्थतन्त्रको कुल आकारको १.५० प्रतिशत बराबर रहेको छ ।

सार्वजनिक ऋणको बढ्दो आकारसँगै यसको व्यवस्थापन, भुक्तानी क्षमता र ऋणबाट प्राप्त स्रोतको प्रभावकारी उपयोग महत्वपूर्ण विषय बनेको छ ।

 

प्रतिक्रिया