बुधवार, आश्विन २८ गते २०८३

Wednesday 14th October 2026

ढुंग्रेवासमा खुल्यो पहिलो मिनिमार्ट

सोमवार , आश्विन २६, २०८३

सिन्धुली,२६ असोज — कमलामाई नगरपालिका–४ ढुंग्रेवासचोकमा आइतबारदेखि आधुनिक सुविधासहितको मिनिमार्ट सञ्चालनमा आएको छ । स्थानीय उपभोक्ताको दैनिक आवश्यकतालाई लक्षित गर्दै स्थापना गरिएको उक्त मिनिमार्टको कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले संयुक्त रूपमा उदघाटन गरेका हुन् ।

ढुंग्रेवास क्षेत्रमा पहिलोपटक स्थापना भएको यस मिनिमार्टले उपभोक्तालाई दैनिक घरायसी प्रयोजनका अधिकांश आवश्यक सामग्री एउटै छानामुनिबाट उपलब्ध गराउने लक्ष्य राखेको छ । खाद्यान्न, किराना सामग्री, घरायसी उपयोगका वस्तु तथा आवश्यक दैनिक उपभोग्य सामग्री सहज रूपमा उपलब्ध हुने भएपछि स्थानीय ग्राहकलाई विभिन्न पसल चहारेर समय र श्रम खर्च गर्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले स्थानीय क्षेत्रमा व्यवस्थित व्यापारिक सेवा विस्तार हुनु सकारात्मक पक्ष भएको बताए । उनले आधुनिक बजार प्रणालीअनुसार सञ्चालन हुने यस्ता व्यवसायले उपभोक्तालाई सहज सेवा प्रदान गर्नुका साथै स्थानीय आर्थिक गतिविधिलाई समेत थप गतिशील बनाउने धारणा व्यक्त गरे ।

त्यस्तै, उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले व्यवस्थित व्यापारिक अभ्यास, गुणस्तरीय सामग्रीको उपलब्धता र ग्राहक सेवामा ध्यान दिन सके स्थानीय व्यवसायले राम्रो सम्भावना बोकेको बताए । उनले उपभोक्ताको आवश्यकता र बदलिँदो बजार शैलीलाई ध्यानमा राखेर सञ्चालन गरिएका यस्ता संस्थाले व्यापार क्षेत्रलाई नयाँ दिशातर्फ लैजान सहयोग पुग्ने उल्लेख गरे ।

मिनिमार्टका सञ्चालक नदिव श्रेष्ठले ग्राहकलाई सहज, गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउनु आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनले उपभोक्ताले दैनिक जीवनमा आवश्यक पर्ने सामग्री खोज्न धेरै ठाउँमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै एकै स्थानबाट आवश्यक वस्तु खरिद गर्न सक्ने वातावरण सिर्जना गरिएको जानकारी दिए ।

उनका अनुसार मिनिमार्टमा ग्राहकको सुविधा, सामग्रीको गुणस्तर र व्यवस्थित खरिद अनुभवलाई विशेष प्राथमिकता दिइएको छ । समयको बचत, सहज पहुँच र उचित व्यवस्थापनका कारण उपभोक्ताले परम्परागत किनमेलभन्दा फरक तथा सुविधाजनक अनुभव प्राप्त गर्ने विश्वास गरिएको छ ।

बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीसँगै एउटै स्थानबाट विभिन्न सामग्री खरिद गर्न सकिने अवधारणा लोकप्रिय बन्दै गएको छ । यही आवश्यकतालाई सम्बोधन गर्दै स्थापना गरिएको ढुंग्रेवासको यो मिनिमार्टले स्थानीय बजार व्यवस्थापनमा नयाँ अभ्यासको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय उपभोक्ताका लागि आवश्यक सामग्रीको सहज उपलब्धता, व्यवस्थित सेवा र समयको बचत गर्ने उद्देश्यसहित सञ्चालनमा आएको मिनिमार्टले कमलामाई नगरपालिका–४ मात्र नभई आसपासका क्षेत्रका ग्राहकलाई समेत लाभ पु¥याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया