काठमाडौं,२२ असोज – पेस्तोल खरिद गरी काठमाडौं उपत्यकामा लुटपाटका गतिविधि विस्तार गर्ने तयारीमा रहेको आरोपमा २७ मुद्दाका अभियुक्त आयन माझीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई काठमाडौंको कलंकी, ढुंगेअड्डा बस्दै आएका २६ वर्षीय माझी लामो समयदेखि प्रहरीको निगरानीमा थिए ।
काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटी पुलमुनि मंगलबार राति पक्राउ गर्न खोज्दा खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले २ राउन्ड हवाई फायर र खुट्टामा १ राउन्ड गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले बताए । घाइते माझीको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार माझीले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियारमध्ये पेस्तोल खरिद गर्न कुराकानी र मोलमोलाइ गरेका प्रमाण भेटिएका छन् । एक अनुसन्धान अधिकृतले भने, “जेनजी आन्दोलनमा लुटिएको पेस्तोल किन्नबारे गरिएको कुराकानी तथा प्रमाणहरूसमेत फेला परेका छन् । घरेलु हतियारको आडमा लुट्दै आएका माझी पछिल्लो समय पेस्तोल किनेर लुटपाट गर्ने तयारीमा रहेको देखिन्छ ।”
अनुसन्धानका क्रममा मकवानपुरको बकैया–७ का २६ वर्षीय मनोजकुमार मोक्तान र बकैया–५ का ३४ वर्षीय राकेश थिङसमेत पक्राउ परेका छन् । प्रहरीका अनुसार मोक्तान मोटरसाइकल चालक र थिङ पछाडि बसेर लुटपाट गर्ने व्यक्ति हुन् । प्रहरी वृत्त ठिमीले उनीहरूलाई गम्भीर उत्तेजना वा आवेगमा कुटपिटसम्बन्धी कसुरमा पक्राउ गरेको हो । उनीहरूमाथि डाँका चोरीमा समेत अनुसन्धान हुने भएको छ । प्रहरीले माझीलाई समूहको मुख्य योजनाकार मानेको छ ।
प्रहरीको आपराधिक अभिलेख प्रणालीअनुसार माझीविरुद्ध २७ मुद्दा चलेका छन् । उनको आपराधिक संलग्नता २०७७ सालदेखि देखिन्छ । चोरी तथा डाँका मुद्दामा ३ महिना कारागार बसेका उनलाई अर्को मुद्दामा ६ महिना कैद तोकिएको थियो । फरार रहेका उनले उक्त सजायसहित थप ३ महिनाको कैद भुक्तान गरी २०८२ वैशाखमा कारागार छाडेका थिए ।
उनीविरुद्ध भक्तपुरमा २०७९ भदौ २६ गते १ र असोज ११ गते २, बनेपामा असोज २३ गते १, काठमाडौंमा २०८२ माघ १५ गते १, माघ २० गते ९, माघ २१ गते २ तथा थप ६ मुद्दा दर्ता भएको प्रहरीको विवरण छ। त्यस्तै, फागुन ४ गते १, फागुन ८ गते २ र फागुन ११ गते ठिमीमा २ मुद्दा चलेका छन् ।
प्रहरीले माझीको समूहलाई जेनजी आन्दोलनका बेला एटीएम बुथ लुटपाटमा समेत संलग्न रहेको आरोप लगाएको छ । करिब ९ महिनाअघि ३ मोटरसाइकलमा ३–३ जनाको समूह बनाएर सडकमा हिँड्ने व्यक्तिका गरगहना लुट्ने गतिविधि देखिएको थियो । त्यतिबेला पक्राउ परेका १० जनामध्ये माझी धरौटीमा छुटेका थिए। त्यसपछि पुनः लुटपाटमा सक्रिय भएको प्रहरीको दाबी छ ।
समूहले बिहान मर्निङवाकमा निस्कनेलाई बाटो सोध्ने बहानामा तथा राति इन्ड्राइभ र पठाओ सेवाको आवरणमा लुट्ने गरेको अनुसन्धानमा खुलेको छ। सिक्री थुत्ने, मोटरसाइकल चोर्ने, नम्बर प्लेट परिवर्तन गरी चोरीकै मोटरसाइकलबाट लुटपाट गर्ने समूहले १५ मोटरसाइकल चोरी गरेको प्रहरीको भनाइ छ । समूहका थप ४ जना फरार छन् ।
असोज १४ गते राति करिब १ः३० बजे बौद्ध गेट नम्बर २ नजिक तरकारी किन्न गएका महेन्द्रकुमार बलबाट ४–५ जनाको समूहले नगद २ लाख रुपैयाँ र कागजात लुटेको थियो । असोज १३ गते राति ११ः३० बजे डल्लुमा रमेश खड्गीको बागमती प्रदेश ०१–०२९ च ९०६० नम्बरको बीवाईडी कारभित्रबाट साढे ३ तोलाको सुनको सिक्री लुटिएको थियो ।
प्रहरीले घटनासँग सम्बन्धित २ मोटरसाइकल, १ खुकुरी, लुटपाटमा प्रयोग गरिएका कपडा र फरक–फरक ५ थान नम्बर प्लेट बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ ।