शुक्रवार, आश्विन २३ गते २०८३

Friday 9th October 2026

नर्स बन्ने सपना अधुरै छाडेर अस्ट्रेलियामा अस्ताइन् सिन्धुलीकी सञ्जु

बिहिवार , आश्विन २२, २०८३

सिन्धुली,२२ असोज – उच्च शिक्षा पूरा गरेर अस्ट्रेलियामै नर्सका रूपमा व्यावसायिक जीवन सुरु गर्ने लक्ष्य बोकेकी सिन्धुलीकी २५ वर्षीया सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु भएको छ । नर्सिङ अध्ययनको अन्तिम चरणमा पुगेकी उनको असामयिक निधनले परिवार, आफन्त तथा अस्ट्रेलियास्थित नेपाली समुदायलाई शोकमा डुबाएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, बनौली घर भएकी राईको अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यस्थित ब्ल्याक स्प्रिङ्सनजिकै  २०८३ असोज १६ गते शुक्रवार अर्थात् सन् २०२६ अक्टोबर २ मा भएको कार दुर्घटनामा मृत्यु भएको हो । स्थानीय समयअनुसार साँझ करिब ५ बजे डग रक्स रोडमा उनी सवार कार सडकबाट बाहिरिएर रुखमा ठोक्किएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । 

राई नर्सिङ अध्ययनअन्तर्गतको व्यावहारिक अभ्यास(ल्पेसमेन्ट) सकेर गाउलबर्नबाट बाथस्र्टस्थित निवास फर्किंदै थिइन् । दुर्घटनापछि घटनास्थल पुगेका आपत्कालीन उद्धारकर्मीले उनको ज्यान बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् । दुर्घटनामा कारमा सवार अर्की २४ वर्षीया विद्यार्थीसमेत घाइते भएकी थिइन् । टाउको र छातीमा चोट लागेकी उनलाई हेलिकोप्टरमार्फत लिभरपुल अस्पताल पु¥याइएको थियो। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ । 

चाल्र्स स्टर्ट विश्वविद्यालयमा नर्सिङ अध्ययनरत राई अन्तिम सेमेस्टरमा थिइन् । लामो समयको अध्ययन, परिश्रम र आर्थिक संघर्षपछि उनी आफ्नो लक्ष्यनजिक पुगेकी थिइन् । अध्ययन सम्पन्न गरेर अस्ट्रेलियामै दर्तावाल नर्सका रूपमा काम गर्ने उनको योजना थियो । तर, व्यावसायिक जीवनको सुरुवात नहुँदै भएको दुर्घटनाले उनको सपना अधुरै बनाएको छ । 

अस्ट्रेलियाबाट सञ्चालित नेपाली सञ्चारमाध्यम नेपालट्युबले सार्वजनिक गरेको विवरणअनुसार राई श्रीमानसँगै अस्ट्रेलियामा बस्दै आएकी थिइन् । नेपालट्युबमा प्रकाशित समाचारमा दुर्घटनापछि उनको पार्थिव शरीर नेपाल पठाउन नेपाली समुदायले आर्थिक सहयोग जुटाएको उल्लेख छ । 

राईको पार्थिव शरीर नेपाल ल्याएर पारिवारिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । उनका श्रीमान् सागर मोक्तानको अनुरोधमा दाजु योगेश राईले अनलाइन सहयोग अभियान सञ्चालन गरेका थिए ।
अभियानमार्फत ५३६ सहयोगदाताबाट ३६ हजार ३९० अस्ट्रेलियन डलर संकलन भएको विवरण सार्वजनिक गरिएको छ । संकलित रकम शव नेपाल पठाउने, अन्तिम संस्कार गर्ने तथा परिवारका तत्कालीन आवश्यकतामा खर्च गरिने जनाइएको छ । 

छोरीको उज्ज्वल भविष्यको अपेक्षा गरिरहेको परिवारका लागि यो घटना अपूरणीय क्षति बनेको छ । अध्ययन सम्पन्न गर्न केही समय मात्र बाँकी रहँदा भएको उनको निधनले विदेशमा उच्च शिक्षासँगै भविष्य निर्माण गर्न संघर्षरत नेपाली विद्यार्थीको जीवनमा आइपर्न सक्ने अनपेक्षित जोखिमलाई समेत उजागर गरेको छ । परिवार अहिले उनको पार्थिव शरीर स्वदेश ल्याएर अन्तिम बिदाइ गर्ने प्रक्रियामा जुटेको छ ।

प्रतिक्रिया