शुक्रवार, कार्तिक १४ गते २०८३

Friday 30th October 2026

कमलामाईमा मासु पसल सञ्चालन गर्न इजाजतपत्र अनिवार्य

बिहिवार , कार्तिक १३, २०८३


सिन्धुली,१२ कात्तिक — कमलामाई नगरपालिकाले नगर क्षेत्रभित्र पशु बधशाला स्थापना तथा मासु बिक्री वितरण गर्ने व्यक्ति र संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ । नगरपालिकाले पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा आउने तयारीसँगै मासु पसल सञ्चालनका लागि तोकिएको मापदण्ड पूरा गरी इजाजतपत्र लिन सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको हो ।

नगरपालिकाले सूचना प्रकाशित गर्दै इजाजतपत्र प्राप्त नगरी मासु पसल सञ्चालन गर्ने तथा मासु बिक्री वितरण गर्ने कार्य कानुनविपरीत हुने स्पष्ट पारेको छ । नेपाल सरकारले २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सिन्धुली जिल्लाका नगरपालिकाहरूमा २०८३ माघ १ गतेदेखि पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लागू हुने व्यवस्था गरेको सूचनामा उल्लेख छ ।

उक्त कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न कमलामाई नगरपालिकाभित्र पशु बधशाला स्थापना गर्ने वा मासु बिक्री गर्ने व्यक्ति तथा संस्थाले पशु बधशाला र मासु जाँच नियमावली, २०५७ को नियम ५ र नियम ८ बमोजिम निर्धारित मापदण्ड पूरा गर्नुपर्नेछ । मापदण्डअनुसारको व्यवस्था सुनिश्चित गरेपछि मात्रै सम्बन्धित व्यवसायीले मासु पसल सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न सक्नेछन् ।

इजाजतपत्र लिन इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले मंसिर मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने नगरपालिकाले जनाएको छ । त्यसका लागि अनुसूची–३ बमोजिमको दरखास्त फाराम भरी कमलामाई नगरपालिकाको पशुपन्छी विकास शाखामा पेस गर्नुपर्नेछ । नगरपालिकाले सम्बन्धित सबै व्यवसायीलाई तोकिएको समयसीमाभित्रै आवेदन दिन आग्रह गरेको छ ।

नगरपालिकाले इजाजतपत्रबिना मासु पसल सञ्चालन गर्ने वा मासु बिक्री वितरण गर्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ । पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को दफा १७ को उपदफा (२) मा यस्तो कसुरमा दस हजार रुपैयाँदेखि बिस हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख छ ।

मासु पसलको इजाजतपत्र, आवेदन प्रक्रिया तथा आवश्यक मापदण्डबारे थप जानकारी लिन नगरपालिकाको पशुपन्छी विकास शाखामा सम्पर्क गर्न सकिनेछ । यससम्बन्धी जानकारीका लागि डा. रोशन कोइरालालाई मोबाइल नम्बर ९८४४१५६६४२ मा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमद्वारा बिहिवार जारी सूचना मा नगरपालिकाले निर्धारित समयभित्र इजाजतपत्र लिई कानुनी व्यवस्थाअनुसार व्यवसाय सञ्चालन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

k.jpg

 

 

प्रतिक्रिया