राजनीति नितान्त व्यक्तिको रुचि र स्वार्थको विषय बन्नु हुँदैन । यो जनता र राष्ट्रको स्वार्थ , आवश्यकता र आकांक्षाअनुरूप निर्देशित हुनुपर्छ । जनता र राष्ट्रसँग नजोडिने राजनीतिलाई सही राजनीति मान्न सकिँदैन । अन्यथा सिद्धान्तको आदर्शमा रमाउन त सकिएला, तर त्यसले मात्र जनताका समस्या समाधान गर्न सक्दैन ।
राजनीति कसका लागि :–
राजनीति मूलतः समाजका विभिन्न वर्गका हित र अन्तर्विरोधसँग जोडिएको हुन्छ । त्यसैले कसको हितको प्रतिनिधित्व गर्ने भन्ने प्रश्न राजनीतिको आधारभूत प्रश्न हो । राजनीति व्यक्तिगत रुचि र स्वार्थबाट निर्देशित हुन्छ भने त्यो प्रत्यक्ष रूपमा अवसरवाद नदेखिए पनि अन्ततः अदृश्य अवसरवादकै रूप लिन पुग्छ । यस्तो प्रवृत्ति कुनै न कुनै दिन भद्दा रूपमा प्रकट भएरै छाड्छ ।
राजनीतिलाई राष्ट्र र जनताका एजेन्डासँग नजोडी सार्थक परिणाम निकाल्न सकिँदैन । तर जनताका आवश्यकता र आकांक्षालाई सम्बोधन गर्ने काम पनि सिद्धान्तको मार्गदर्शनमा नै अगाडि बढ्नुपर्छ । सिद्धान्तबाट निरपेक्ष राजनीति सम्भव छैन । कुनै सिद्धान्त मान्दिनँ भन्ने धारणा पनि आफैँमा एउटा वैचारिक मान्यता हो ।
समाजमा बसेपछि राजनीतिबाट अलग रहन सकिँदैन । राजनीति मानिसको जीवनको अभिन्न अंग हो । आफूलाई इमानदार सम्झनेले राजनीति गर्दिनँ भन्नु र व्यवहारमा राजनीतिबाट अलग बस्नु पनि राजनीतिक प्रभावबाट मुक्त हुनु होइन । बरु त्यसले गलत प्रवृत्ति र अवसरवादलाई फैलने तथा त्यसको पकड बलियो बनाउने ठाउँ दिन सक्छ ।
सिद्धान्त र व्यवहार :–
सिद्धान्त र व्यवहारको सम्बन्ध लट्टाई र चंगाको सम्बन्धजस्तै हो । लट्टाईले चंगाको धागोलाई नियन्त्रणमा राखेर उडानलाई दिशा दिन्छ, तर चंगा उड्नका लागि हावा र खुला आकाशसँग जोडिनुपर्छ । राजनीतिमा हावा र खुला आकाश भनेको जनता र राष्ट्र हुन् ।
सिद्धान्तले व्यवहारलाई बाटो देखाउँछ, तर व्यवहार जनताको वास्तविकता र आवश्यकतासँग जोडिएर नै सिद्धान्त जीवन्त र विकसित हुन्छ । सिद्धान्तलाई जडसूत्र बनाउनु हुँदैन । व्यवहारलाई सिद्धान्तविहीन हुन दिनुहुँदैन ।
जनतालाई राजनीतिसँग जोड्न र समाजमा सार्थक परिवर्तन ल्याउन राजनीतिका तीन आधारलाई दृढतापूर्वक आत्मसात् गर्नु अपरिहार्य छ ।
तीन आधार हुन :-
१. सही विचार ।
२. स्पष्ट राजनीतिक उद्देश्य ।
३. निरन्तर व्यावहारिक प्रयास ।
विचारले परिवर्तनको दिशा निर्धारण गर्छ, उद्देश्यले गन्तव्य स्पष्ट पार्छ र निरन्तर कर्मले त्यसलाई व्यवहारमा रूपान्तरण गर्छ । यी तीन आधारबीचको एकताले नै राजनीतिलाई जनतासँग जोड्छ ।
जनसम्बन्ध :–
तर यी तीन आधारलाई जीवन्त बनाउन जनतासँगको सम्बन्ध, सहभागिता र नेतृत्वको जवाफदेहिता पनि उत्तिकै आवश्यक हुन्छ । जनतालाई राजनीतिको समर्थनकर्ता मात्र होइन, परिवर्तनको सक्रिय सहभागीकर्ता बनाउनुपर्छ । उनीहरूका अनुभव, समस्या र आकांक्षाबाट सिक्दै आफ्ना नीति, कार्यदिशा र कार्यशैलीलाई आवश्यकताअनुसार परिमार्जन गर्न सक्नुपर्छ ।
नेतृत्वको प्रश्न :–
विचार र उद्देश्य सही भए पनि नेतृत्वको आचरण र व्यवहारमा त्यसको प्रतिबिम्ब देखिनुपर्छ । नेतृत्वले आफूलाई जनताभन्दा माथि होइन, जनताप्रति उत्तरदायी ठान्नुपर्छ । विचार, नीति, कार्यशैली र आचरणबीच एकरूपता कायम गर्नुपर्छ ।
राजनीतिमा गल्ती र कमजोरी हुन सक्छन् । तर तिनलाई स्वीकार गर्ने, कारण खोज्ने, सच्याउने र नयाँ परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्ने क्षमता हुनुपर्छ । आत्मसमीक्षा र सुधारविनाको राजनीति क्रमशः यथास्थितिवादमा फस्न सक्छ ।
‘असफलता नै सफलताको जननी हो’ र ‘ठेस लागेपछि चेत खुल्छ’ भन्ने अनुभवलाई नभुलौँ। आकाशै खस्यो जस्तो गरेर निराश नबनौँ। सर्वप्रथम आफ्नो सोच बदलौँ अर्थात् कोर्स करेक्सन गरौँ। राजनीतिक उद्देश्य स्पष्ट बनाऔँ र त्यसलाई व्यवहारमा उतार्न निरन्तर लागौँ । जनतासँग जोडिऔँ, उनीहरूका अनुभवबाट सिकौँ र उनीहरूलाई नै परिवर्तनको सक्रिय सहभागी बनाऔँ ।
राजनीतिक सफलताको आधार :–
अन्ततः सिद्धान्तले व्यवहारलाई दिशा दिनुपर्छ, व्यवहारले सिद्धान्तलाई परीक्षण गर्नुपर्छ र जनताको जीवनमा आउने सकारात्मक परिवर्तनले राजनीतिको सार्थकता पुष्टि गर्नुपर्छ । सिद्धान्तले दिशा दिन्छ, जनताको आवश्यकताले कार्यदिशा निर्धारण गर्छ, स्पष्ट उद्देश्यले गन्तव्य देखाउँछ, व्यवहारले त्यसलाई कार्यान्वयन गर्छ र आत्मसमीक्षाले निरन्तर परिमार्जन गर्दै अघि बढाउँछ ।
राजनीतिको सफलता सत्ता प्राप्तिमा मात्र होइन, जनताको जीवनमा आउने सकारात्मक परिवर्तनमा मापन हुनुपर्छ । विचार, नीति, उद्देश्य, कार्यशैली र आचरणबीच एकरूपता कायम गर्दै जनताको विश्वास जित्नु र उनीहरूलाई परिवर्तनको सक्रिय सहभागी बनाउनु नै राजनीतिको सार्थकता हो ।