सिन्धुली,१४ कात्तिक – दुई दिनदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आइतबार दिउँसोदेखि पुनः सञ्चालनमा आउने सम्भावना देखिएको छ । सडकमा थुप्रिएको लेदो र विभिन्न स्थानमा गएको पहिरो हटाउने काम सम्पन्न हुन नसक्दा आज शनिबार दिनभर राजमार्गमा यातायात ठप्प भएको थियो ।
शनिबार बेलुकासम्म पनि सडक सफाइ तथा अवरोध हटाउने कार्य जारी रहेकाले राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन । वर्षाका कारण केही स्थानमा रोशी खोलाले सडकमा बनाइएका डाइभर्सनसमेत क्षतिग्रस्त बनाएको छ । यसले सडक मर्मत तथा यातायात सञ्चालनमा थप चुनौती सिर्जना गरेको छ ।
यद्यपि, शनिबार बेलुकादेखि वर्षा रोकिएपछि अवरुद्ध सडक खुलाउने प्रयासले गति लिने र आइतबार दिउँसोसम्म यातायात सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।
राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको औपचारिक सुनिश्चितता नभएसम्म यात्रु तथा सवारीचालकलाई यात्रा नगर्न सुझाव दिइएको छ । विशेषगरी आइतबार बिहानै बीपी राजमार्ग हुँदै गन्तव्यतर्फ प्रस्थान गर्ने तयारीमा रहेकाहरूलाई यात्रा स्थगित गर्न आग्रह गरिएको छ ।
सडकमा थुप्रिएको लेदो, पहिरो र क्षतिग्रस्त डाइभर्सनका कारण यात्रा जोखिमपूर्ण हुन सक्ने भएकाले सडक पूर्ण रूपमा सफा गरी यातायात सञ्चालनका लागि सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र यात्रा तय गर्नु उपयुक्त हुनेछ ।