मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

नोबेलकै कारण सिन्धुलीमा ग्यास संकट

सोमवार , कार्तिक १६, २०८३


सिन्धुली,१६ कात्तिक — सिन्धुलीमा पछिल्लो चार महिनादेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहँदा उपभोक्ता मारमा परेका छन् । बजारमा ग्यास बोकेका सवारीसाधन पुग्नासाथ सिलिन्डर भर्न उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । सरकारले निर्धारण गरेको मूल्य तिर्न तयार हुँदासमेत सहज रूपमा ग्यास उपलब्ध नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यद्यपि, बजारमा सबै कम्पनीको आपूर्ति अवस्था समान छैन । व्यवसायीका अनुसार मुख्य समस्या नोबेल ग्यासको आपूर्ति तथा वितरणमा केन्द्रित छ ।

सिन्धुलीमा नोबेल, नारायणी, सुपर, सहारा, जगदम्बा, बारा, ग्यास वानलगायत एक दर्जनभन्दा बढी कम्पनीका ग्यास बिक्रीवितरण हुँदै आएका छन् । तीमध्ये नोबेलको बजार हिस्सा करिब ६० देखि ७० प्रतिशत रहेको व्यवसायीहरूको अनुमान छ । बाँकी हिस्सा अन्य कम्पनीले ओगटेका छन् । बजारमा नोबेलको निर्भरता उच्च रहेकाले उक्त कम्पनीको आपूर्ति प्रभावित हुँदा जिल्लाकै ग्यास बजारमा अभाव देखिएको हो ।

नारायणी र सुपर ग्यास बिक्री गर्दै आएका कालिकामालामाई ग्यास पसलका सञ्चालक धिरज जैसवालका अनुसार यी दुई कम्पनीबाट हुने आपूर्तिमा अहिलेसम्म उल्लेख्य समस्या आएको छैन । बजारमा अभाव देखिएका बेला पनि खाली सिलिन्डर बुझाएको दुईदेखि तीन दिनभित्र उपभोक्तालाई ग्यास उपलब्ध गराउने गरिएको उनले बताए। बिरामी, सुत्केरी तथा अशक्त उपभोक्तालाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि ग्यास उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

यस्तै, सिन्धुलीको मिलनचोकस्थित ग्यास वानको बिक्री केन्द्रमा पनि दसैँअघि वितरण तुलनात्मक रूपमा सहज देखिएको थियो । पसलमा रहेका तीनवटा भरिएका सिलिन्डरमध्ये दुईवटा पहिले नै उपभोक्ताका नाममा छुट्याइएको र एउटा भने आवश्यक पर्ने जोकोहीले तत्काल लैजान सक्ने जानकारी सञ्चालकले दिएका थिए । पर्याप्त मौज्दात नरहे पनि उपभोक्ताले खाली सिलिन्डर ल्याएपछि कारखानाबाट ग्यास भरेर वितरण गर्ने गरिएको उनले बताए। उनका अनुसार ग्यास वानको वितरणमा अहिलेसम्म हाहाकारको अवस्था सिर्जना भएको छैन ।

व्यवसायीहरूको अनुमानमा सिन्धुलीमा विभिन्न कम्पनीका गरी करिब ५० हजार ग्यास सिलिन्डर छन् । तीमध्ये ३० हजारभन्दा बढी नोबेलका मात्रै रहेको बताइन्छ । ठूलो संख्यामा उपभोक्ता नोबेलमै निर्भर रहेकाले यसको आपूर्ति कमजोर हुँदा त्यसको असर व्यापक रूपमा परेको छ ।

उपभोक्ताहरूका अनुसार नोबेलले दुई हप्तादेखि एक महिनाको अवधिमा करिब १ हजार ५०० देखि २ हजार सिलिन्डर मात्रै पठाउने गरेको छ । जबकि सोही अवधिमा करिब ५ हजार सिलिन्डर खाली हुने गरेका छन् । मागको तुलनामा आपूर्ति निकै कम हुँदा खाली सिलिन्डर थुप्रिने र उपभोक्ताले लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था बनेको उनीहरूको भनाइ छ ।

समग्र बजारमा ग्यास उपलब्ध नै नभएको भन्दा पनि सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको नोबेलको आपूर्ति मागअनुसार हुन नसक्नु सिन्धुलीको वर्तमान अभावको प्रमुख कारण देखिएको छ । अन्य कम्पनीको वितरण तुलनात्मक रूपमा नियमित रहँदा नोबेलको आपूर्ति व्यवस्थापन सुधार नगरेसम्म उपभोक्ताले भोग्दै आएको समस्या समाधान हुन कठिन देखिन्छ । स्रोत : सिन्धुली मंसिर चार

प्रतिक्रिया