मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

बीपी राजमार्गमा मोटरसाइकल दुर्घटना, दुई जना  घाइते

सोमवार , कार्तिक १६, २०८३


सिन्धुली,१६ कात्तिक  — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित मरिन डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते दुवैको खुट्टामा फ्याक्चर भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले सोमवार जनाएको छ ।

बागमती प्रदेश प्रहरीका  अनुसार आइतवार राति करिब ९ः०० बजे काठमाडौंबाट धनुषातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००५ प ८०३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । त्यसपछि मोटरसाइकल सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

मोटरसाइकल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–६ निवासी २४ वर्षीय पंकज ठाकुरले चलाएका थिए । दुर्घटनामा चालक ठाकुरको बायाँ खुट्टाको तिघ्रा फ्याक्चर भएको छ । मोटरसाइकलको पछाडि सवार सोही नगरपालिकाको वडा नम्बर ५ निवासी २२ वर्षीय अबिनय सिंहको पनि बायाँ खुट्टाको घुँडाभन्दा माथिको भागमा फ्याक्चर भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक ठाकुरलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि राति करिब ११ः०० बजे काठमाडौं रिफर गरिएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ । पछाडि सवार सिंहको खुर्कोटस्थित शुभ जीवन अस्पतालमा उपचार भइरहेको र उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ ।  प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसको कागजात नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया