सिन्धुली,२९ कात्तिक — सिन्धुलीको मरिण गाउँपालिकामा सञ्चालित मासु उद्योगमा १२३ जना कर्मचारी आवश्यक परेको सूचना आवेदन दिने अन्तिम दिन मात्रै सार्वजनिक भएपछि कर्मचारी भर्ना प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको छ ।
मरिण गाउँपालिका अध्यक्ष प्रख्यात मुक्तानले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सूचना सार्वजनिक गरेपछि मात्रै उद्योगमा कर्मचारी माग गरिएको विषय व्यापक रूपमा बाहिर आएको हो । तर, सूचना सार्वजनिक हुँदासम्म इच्छुक व्यक्तिले आवेदन दिने समयसमेत समाप्त हुने अवस्था देखिएको छ ।
उद्योगले कर्मचारी भर्नाका लागि ७ दिनभित्र आवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त विज्ञापन तिहार बिदाको समयमा पत्रिकामार्फत प्रकाशित भएको देखिए पनि सर्वसाधारणको पहुँचमा भने आवेदनको अन्तिम दिन मात्रै पुगेको हो । यसले रोजगारीको अवसरबारे समयमै जानकारी पाउने नागरिकको अधिकार र भर्ना प्रक्रियाको निष्पक्षतासम्बन्धी गम्भीर प्रश्न सिर्जना गरेको छ ।
सामान्यतया ठूलो संख्यामा कर्मचारी माग गर्दा पर्याप्त प्रचारप्रसार गरी सबै सम्भावित इच्छुक उम्मेदवारलाई आवेदन दिने समान अवसर सुनिश्चित गर्नुपर्ने हुन्छ । तर, १२३ जनाका लागि गरिएको भर्ना आह्वानसम्बन्धी सूचना अन्तिम दिन मात्रै व्यापक रूपमा सार्वजनिक हुनुले छनोट प्रक्रिया कति खुला र प्रतिस्पर्धात्मक छ भन्ने विषयमा संशय उत्पन्न गरेको छ ।
सूचना सार्वजनिक गर्ने समय, विज्ञापन प्रकाशन भएको अवधि र आवेदनको अन्तिम मितिबीच देखिएको अस्वाभाविक परिस्थितिले कर्मचारी छनोटको प्रक्रिया पूर्वनिर्धारित वा सीमित व्यक्तिलाई लक्षित गरेर अघि बढाइएको त होइन भन्ने आशंकासमेत जन्माएको छ । यद्यपि, यस विषयमा कुनै अनियमितता भएको पुष्टि भइसकेको छैन ।
यस परिस्थितिमा सम्बन्धित मासु उद्योग र मरिण गाउँपालिकाका अध्यक्षले विज्ञापन प्रकाशनको मिति, सूचना सार्वजनिक गर्न अपनाइएको प्रक्रिया तथा आवेदनको पर्याप्त अवसर सुनिश्चित गरिएको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु आवश्यक देखिन्छ । साथै, भर्ना प्रक्रिया पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धात्मक रहेको विश्वास दिलाउनु सम्बन्धित निकायको जिम्मेवारी हो । स्रोत : सिन्धुली मंसिर चार