सिन्धुली,२८ कात्तिक — ग्रामीण क्षेत्रमा कृषि मजदुरको अभाव चुलिँदै जानुका साथै ज्याला खर्च बढेपछि सिन्धुलीमा धान भित्र्याउने परम्परागत अभ्यासमा परिवर्तन देखिन थालेको छ । धान काटिसकेपछि दाइँ गर्ने र धान तथा पराल छुट्याउने काममा किसानले आधुनिक थ्रेसर मेसिनको प्रयोग बढाएका छन् । कम समय र तुलनात्मक रूपमा न्यून खर्चमा काम सम्पन्न हुने भएपछि कृषि यान्त्रिकीकरणप्रति किसानको आकर्षण बढेको हो ।
धान पाकेर भित्र्याउने समय सुरु भएसँगै जिल्लाका अधिकाँश ग्रामीण क्षेत्रमा थ्रेसर मेसिनको प्रयोग बढेको छ । विगतमा गोरु र खेतालाको सहायताले गरिने दाइँ अहिले मेसिनबाट हुन थालेको छ । विशेषगरी धान काटेपछि समयमै भिœयाउनुपर्ने बाध्यता र आवश्यक जनशक्ति जुटाउन कठिनाइ भएपछि किसान आधुनिक उपकरणमा निर्भर हुन थालेका हुन् ।
कमलामाई नगरपालिका–६ का किसान नारायण थापाका अनुसार गाउँमा कृषि कामदार पाउन कठिन हुँदै गएको छ । उपलब्ध कामदारको ज्याला पनि महँगो भएकाले खेतीको लागत बढ्ने गरेको छ । यस्तो अवस्थामा थ्रेसर मेसिन किसानका लागि उपयोगी विकल्प बनेको उनको अनुभव छ । “थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुन्छ र खर्च पनि कम लाग्छ । त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौँ”, थापाले भने ।
दुधौली नगरपालिका–२ का किसान बद्रीप्रसाद बरालले कृषि कार्यमा मेसिनको प्रयोगले श्रम व्यवस्थापन सहज बनाएको बताए । गोरु र कृषि मजदुरको उपलब्धता घटिरहेका बेला साना आकारका थ्रेसर खेतसम्म पु¥याएर सञ्चालन गर्न सकिने भएकाले किसानलाई सुविधा भएको उनको भनाइ छ । आवश्यकता अनुसार बिहान, दिउँसो र साँझसमेत मेसिन चलाउन सकिने हुँदा काम सम्पन्न गर्न समयको व्यवस्थापन पनि सहज भएको उनले बताए ।
कृषि उपकरणको प्रयोग विस्तारसँगै थ्रेसर सञ्चालनलाई आम्दानीको माध्यम बनाउने अवसरसमेत बढेको छ । थ्रेसर सञ्चालक सुर्यबहादुर सिजाली मगरले धान र पराल छुट्याउने काम गरेबापत प्रतिघण्टा २ हजार ८०० देखि ३ हजार रुपैयाँसम्म शुल्क लिने गरेको बताए । उनका अनुसार मेसिनबाट काम गर्दा श्रम, समय र खर्च बचत हुने भएकाले किसानबाट माग बढिरहेको छ ।
आधुनिक उपकरणले कृषि उत्पादनसँग सम्बन्धित काम सहज बनाए पनि परम्परागत दाइँ संस्कृतिको निरन्तरताबारे चिन्ता व्यक्त हुन थालेको छ । किसान रामहरी कार्कीले कृषि प्रविधिको प्रयोगसँगै पुराना कृषि अभ्यास र तिनसँग जोडिएको सांस्कृतिक पक्ष संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।
कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा १३ हजार ४४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा यस वर्ष १२ हजार ८६२ हेक्टरमा मात्रै रोपाइँ भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा धान र पराल छुट्याउन थ्रेसर मेसिन प्रयोग हुँदै आएको छ ।
कृषिमा यान्त्रिकीकरण विस्तारसँगै परम्परागत दाइँको स्थान आधुनिक उपकरणले लिन थालेको देखिन्छ । कामदारको अभाव र बढ्दो उत्पादन लागतबीच किसानका लागि थ्रेसर समयमै धान भिœयाउने व्यावहारिक विकल्प बनेको छ ।