आइतवार, कार्तिक २९ गते २०८३

Sunday 15th November 2026

काँग्रेसको डिजिटल नेतृत्वमा समीर विक्रम थापा

आइतवार , कार्तिक २९, २०८३


सिन्धुली,२९ कात्तिक — नेपाली काँग्रेसले पार्टीको संगठनलाई प्रविधिमैत्री बनाउँदै डिजिटल माध्यमबाट संगठनात्मक गतिविधि प्रभावकारी बनाउने नीतिअनुरूप कमलामाई नगरपालिकाको डिजिटल प्रतिनिधि नगर संयोजकमा युवा नेता एवं महाधिवेशन प्रतिनिधि समीर विक्रम थापालाई जिम्मेवारी दिएको छ ।

पार्टीको संगठनात्मक रूपान्तरण र बदलिँदो सञ्चार प्रणालीलाई आत्मसात् गर्ने उद्देश्यले थापालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । डिजिटल प्रतिनिधि चयनसँगै कमलामाई नगरपालिकाभित्र नेपाली काँग्रेसका गतिविधि, सूचना सम्प्रेषण र संगठनात्मक समन्वयलाई डिजिटल माध्यमबाट व्यवस्थित बनाउने जिम्मेवारी उनको काँधमा आएको छ ।

यस जिम्मेवारीअन्तर्गत नगरपालिकाभित्र पार्टीका डिजिटल गतिविधिको समन्वय, आधिकारिक सूचना तथा निर्णयको प्रचारप्रसार, सामाजिक सञ्जालमार्फत संगठनका गतिविधिको अभिलेखीकरण र नगरदेखि वडा तहसम्म सूचना प्रवाहलाई प्रभावकारी बनाउने काम समेटिन्छन् । साथै, पार्टीका नेता तथा कार्यकर्तालाई डिजिटल सञ्जालमा जोड्ने, प्रविधिको प्रयोगमार्फत संगठनात्मक सम्पर्क विस्तार गर्ने र डिजिटल माध्यममा पार्टीको आधिकारिक धारणा तथा सूचनाको विश्वसनीयता कायम राख्ने दायित्व पनि नगर संयोजकको कार्यक्षेत्रमा पर्नेछ ।

डिजिटल प्रतिनिधित्वसम्बन्धी अवधारणा, यसको आवश्यकता र पार्टी संगठनमा प्रविधिको उपयोगबारे छलफल गर्न आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अंशुल केसी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा पार्टीको आईटी विभागका विज्ञ सृजन शाहसहित जिल्ला, क्षेत्र, प्रदेश, नगर तथा वडा तहका नेता र कार्यकर्ताको उपस्थिति थियो ।

पार्टीको डिजिटल नीतिलाई स्थानीय तहसम्म कार्यान्वयन गर्ने क्रममा नगर संयोजकले सम्बन्धित पार्टी नेतृत्व र संगठनात्मक संरचनासँग समन्वय गरी काम गर्नुपर्नेछ । यसले पार्टीका गतिविधिलाई पारदर्शी, व्यवस्थित र नागरिकको पहुँचमा पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

थापाको जिम्मेवारीलाई कमलामाई नगरपालिकामा नेपाली काँग्रेसको डिजिटल संगठन विस्तार, प्रविधिमैत्री कार्यशैलीको विकास र युवा जनशक्तिको संगठनात्मक सहभागिता अभिवृद्धि गर्ने प्रयासका रूपमा लिइएको छ ।

प्रतिक्रिया