मुगु,२९ कात्तिक — मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडक खण्डमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
आइतवार सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप अचानक सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । उक्त गाडी ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए ।
प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पु¥याएको थियो। अस्पताल पु¥याइएका तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, काठमाडौं निवासी ५४ वर्षीय रमेश बिडारी र काठमाडौंकै ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् ।
दुर्घटनामा घाइते हुनेमा ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापा रहेका छन् । दुवै जनाको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला जिपमा चालकसहित पाँच जना सवार थिए । सडकबाट करिब ६०० मिटर तल खसेको जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।