काठमाडौँ,२९ कात्तिक – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य पर्ने साढे पाँच केजी अवैध लागुऔषध सेतो हेरोइन बरामद गरेको छ । थाइल्यान्डबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई पक्राउ गर्दै लागुऔषध नियन्त्रण ब्युरोले उक्त परिमाणको हेरोइन नियन्त्रणमा लिएको हो ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारे रहेका छन् । शनिबार बिहान विमानस्थलमा शङ्कास्पद गतिविधि देखिएपछि प्रहरीले उनको लगेज जाँच गरेको थियो । सो क्रममा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर ल्याइएको अवस्थामा सेतो हेरोइन फेला परेको हो ।
प्रहरीका अनुसार बरामद लागुऔषधको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ अनुमान गरिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूले सेतो हेरोइनको कारोबार प्रतिग्राम ४० हजार रुपैयाँका दरले हुने गरेको बताएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका टिघारेको अन्तर्राष्ट्रिय भ्रमण तथा आवागमनको विवरणसमेत शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ । उनी यसअघि दुई पटक लाओसबाट काठमाडौँ आएर भारत गएको यात्रा विवरण फेला परेको छ । यसबाहेक उनले जिम्बाब्वे, सुडान, बंगलादेश र कम्बोडियाको भ्रमण गरेको अभिलेख पनि अनुसन्धानका क्रममा भेटिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक बोहराका अनुसार अनुसन्धानबाट उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको खुलेको छ । पक्राउ परेका व्यक्तिको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
नेपालमा लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार सेतो हेरोइनको अवैध कारोबारमा संलग्न व्यक्तिलाई कसुरको प्रकृतिअनुसार १५ वर्षदेखि जन्मकैदसम्मको सजाय तथा पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । पक्राउ परेका टिघारेमाथि सोही ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरेले जनाएको छ ।