सिन्धुलीको मरिण गाउँपालिकामा सञ्चालित जियान फुड्स प्रा. लि. ले विभिन्न पदमा कर्मचारी माग गर्दै सार्वजनिक गरेको विज्ञापनले रोजगारीको अवसरभन्दा बढी भर्ती प्रक्रियाको पारदर्शिता र प्राविधिक योग्यतामाथि प्रश्न उठाएको छ । विशेषगरी आवेदन दिने अन्तिम दिनमै सूचना सार्वजनिक रूपमा चर्चामा आउनुले प्रक्रियाको निष्पक्षतामाथि स्वाभाविक आशंका जन्माएको छ ।
कुनै पनि संस्थामा कर्मचारी नियुक्ति गर्नु सामान्य प्रशासनिक प्रक्रिया हो । तर सयौँ नागरिकले रोजगारीको अवसर पाउन सक्ने यस्तो महत्वपूर्ण सूचनाको प्रभावकारी प्रचारप्रसार नगरी म्याद सकिने दिन मात्रै सार्वजनिक रूपमा जानकारी पुग्नु संयोग मात्र हो कि प्रक्रियामै कुनै कमजोरी छ ? कतै सीमित व्यक्तिलाई मात्र अवसर उपलब्ध गराउने उद्देश्यले विज्ञापन गरिएको त होइन ? यी प्रश्नको जवाफ सम्बन्धित पक्षले दिन आवश्यक छ ।
त्यसभन्दा गम्भीर विषय विज्ञापनमा उल्लेख गरिएको न्यूनतम शैक्षिक योग्यताको हो । उत्पादन व्यवस्थापक र सुपरभाइजरजस्ता जिम्मेवार पदमा मासुजन्य उत्पादनको गुणस्तर, खाद्य स्वच्छता, प्याकेजिङ, भण्डारण तथा कोल्डचेन व्यवस्थापनसम्बन्धी विशेष प्राविधिक ज्ञान अनिवार्यजस्तै हुन्छ । यस्ता जिम्मेवारीका लागि पशु चिकित्सा विज्ञान (द्यख्क्अ ७ ब्ज्) तथा पशु विज्ञानमा डिप्लोमा हासिल गरेका जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ । तर विज्ञापनमा सामान्य स्नातक योग्यतालाई प्राथमिकता दिइनु प्राविधिक दक्षताको आवश्यकतामाथि प्रश्न उठाउने विषय हो ।
रोजगारी सिर्जना गर्ने उद्योगको उद्देश्य केवल पदपूर्ति गर्नु मात्र होइन, दक्ष र योग्य जनशक्तिमार्फत गुणस्तरीय उत्पादन तथा उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु पनि हो । योग्यताका मापदण्ड स्पष्ट र पदअनुसार वैज्ञानिक हुनुपर्छ । नियुक्ति प्रक्रियामा नातावाद, कृपावाद वा राजनीतिक पहुँचले स्थान पाएको आशङ्का उत्पन्न हुने अवस्था आउनु हुँदैन ।
मरिणमा स्थापित यो उद्योग सफल होस्, स्थानीयले रोजगारी पाऊन् र क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस् भन्ने सबैको चाहना हो । तर सफलताको आधार पारदर्शिता, व्यावसायिक दक्षता र निष्पक्ष नियुक्ति हुनुपर्छ । उठेका प्रश्नहरूको तथ्यसहित जवाफ दिनु र आवश्यक परे भर्ती प्रक्रिया पुनरावलोकन गर्नु नै उद्योगको विश्वसनीयता जोगाउने उत्तम बाटो हो ।