आज हिन्दू तथा बौद्ध धर्मावलम्बी नेपालीहरूको महत्वपूर्ण पर्व जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै छ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले धार्मिक आस्था, सांस्कृतिक विविधता, पारिवारिक प्रेम र सामाजिक एकताको सन्देश बोकेको छ । यस दिन हिन्दू धर्मावलम्बीहरूले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्छन् भने दिदीबहिनीहरूले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु, सुख, समृद्धि र सुरक्षाको कामना गर्दछन् ।
जनैपूर्णिमा केवल कर्मकाण्डमा सीमित पर्व होइन । यो आत्मशुद्धि, अनुशासन, कर्तव्य र नैतिक जिम्मेवारीको स्मरण गराउने अवसर पनि हो। जनै धारण गर्ने परम्पराले मानिसलाई सत्य, सदाचार र सामाजिक उत्तरदायित्वको बाटोमा हिँड्न प्रेरित गर्दछ । त्यसैगरी, रक्षाबन्धनले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, विश्वास र पारस्परिक सहयोगलाई अझ बलियो बनाउँछ । आजको बदलिँदो समाजमा पारिवारिक सम्बन्धहरू व्यस्तता, प्रविधि र व्यक्तिगत स्वार्थका कारण कमजोर बन्दै गएका छन् । यस्तो अवस्थामा रक्षाबन्धनजस्ता पर्वले भावनात्मक सम्बन्धलाई पुनः जोड्ने महत्वपूर्ण काम गर्छन् ।
नेपाल विभिन्न जाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न देश हो । जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा देशका विभिन्न समुदायले आ–आफ्नै शैली र परम्पराअनुसार पर्व मनाउँछन् । कतिपय स्थानमा क्वाँटी खाने चलन छ भने नेवार समुदायमा गुन्हुं पुन्हि, तराई क्षेत्रमा राखी र अन्य समुदायमा विभिन्न सांस्कृतिक विधि प्रचलित छन् । यी विविध परम्पराहरू नेपालको साझा सांस्कृतिक सम्पत्ति हुन् । त्यसैले कुनै एक समुदायको पर्व भनेर सीमित नगरी सबै नेपालीले सम्मान र सद्भावका साथ मनाउनुपर्छ ।
तर पर्व मनाउने क्रममा देखिने अनावश्यक खर्च, तडकभडक, महँगा उपहारको प्रतिस्पर्धा र वातावरण प्रदूषणप्रति भने सचेत हुन आवश्यक छ । पर्वको वास्तविक उद्देश्य प्रेम, सद्भाव र सहकार्य हो, आर्थिक प्रदर्शन होइन । दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध उपहारको मूल्यले होइन, व्यवहारको आत्मीयता र जिम्मेवारीले बलियो हुन्छ ।
यस पवित्र अवसरमा हामी सबैले जातीय, धार्मिक र सामाजिक विभेद त्याग्दै पारस्परिक सम्मान, सहयोग र भाइचाराको भावना विकास गर्नुपर्छ । जनैपूर्णिमा तथा रक्षाबन्धनले प्रत्येक घरमा शान्ति, सुरक्षा र समृद्धि ल्याओस् । सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना ।