आइतवार, कार्तिक २९ गते २०८३

Sunday 15th November 2026

उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

आइतवार , कार्तिक २९, २०८३

उदयपुर,२९कात्तिक – उदयपुरको चौदण्डीगढी नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत चौदण्डीगढी नगरपालिका–१०, खैरा झोरामा शनिबार भएको दुर्घटनामा चालकले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना.७ त.५३२५ नम्बरको ट्याक्टर एकापसमा ठोक्किएका थिए । दुई सवारीसाधनबीच भएको उक्त ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि घाइते चालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको थियो । तर अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव हाल जिल्ला अस्पताल उदयपुरमै राखिएको प्रहरीले जनाएको छ ।

मृतकको नाम, थर र स्थायी वतन खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप विवरण तथा मृतकको पहिचान खुलाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया