शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

तीन जिल्लाका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रवार , आश्विन ९, २०८३


काठमाडौं,०९ असोज — देशका विभिन्न तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । स्याङ्जा, कैलाली र रौतहटमा भएका दुर्घटनामा एक जनाको उपचारका क्रममा तथा अन्यको दुर्घटनापछि मृत्यु भएको प्रहरीले जनाएको 
छ ।

स्याङ्जाको भीरकोट नगरपालिका–१ करूङस्थित सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बजादीबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप बिहीबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा पुतलीबजार नगरपालिका–१० निवासी ७६ वर्षीय उत्तम सिंह गुरुङ गम्भीर घाइते भएका थिए। उनको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा जिप चालकसहित अन्य यात्रु घाइते भएका छन्। घाइते चालकको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने जिपमा सवार अन्य चार जनाको गण्डकी मेडिकल कलेज, कास्कीमा उपचार जारी रहेको छ ।

यसैगरी कैलालीको टीकापुर नगरपालिका–१ स्थित सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । से ४ प ५४५९ नम्बरको मोटरसाइकल र सु.प.प्र ०१–००९ प २१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा से ४ प ५४५९ नम्बरको मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ निवासी ५५ वर्षीय सुरेन्द्र शाह गम्भीर घाइते भएका थिए।

बिहीबार बेलुकी भएको उक्त दुर्घटनामा घाइते शाहको उपचारका क्रममा शुक्रबार बिहान बाँकेको नेपालगन्जस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै रौतहटमा पनि सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । पछिल्ला घटनासँगै सडक सुरक्षाको चुनौती थप देखिएको छ । प्रहरीले तीव्र गति, असावधानी र सवारी सञ्चालनमा हुने लापरबाहीका कारण दुर्घटना बढ्न सक्ने भन्दै चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया