शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ,०९ असोज –  निरन्तर परेको वर्षासँगै आएको बाढी, पहिरो र लेदोका कारण देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सहायक सडक खण्ड प्रभावित भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरणअनुसार जोखिमयुक्त क्षेत्रमा सवारी आवागमन नियन्त्रण गरिएको छ भने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कोशी प्रदेशअन्तर्गत सोलुखुम्बुमा भारी वर्षाको पूर्वानुमानपछि असोज ८ गते बेलुकी ६ बजेदेखि ९ गते बिहान ६ बजेसम्म सिद्धिचरण लोकमार्गसहित आन्तरिक सडकमा अत्यावश्यक बाहेकका सवारी साधन तथा पैदल यात्रुको रात्रीकालीन आवतजावत रोकिएको थियो। पाँचथरको तमोर–कोरिडोरअन्तर्गत तुम्बेवा गाउँपालिका–२ नावाखोलामा आएको बाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोजपुरमा मध्यपहाडी लोकमार्गसहित भित्री सडकमा जोखिम न्यूनीकरणका लागि एम्बुलेन्स, दमकल र खाद्यान्न बोकेका अत्यावश्यक सवारी बाहेक अन्यलाई रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ ।

इलामको मेची राजमार्ग तथा मेची कोरिडोरमा असोज ११ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ । ओखलढुङ्गाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ भँडारे खोलामा बाढीका कारण सडक अवरुद्ध बनेको छ ।

बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८ किम्तिबेसी, वडा नं ४ चारसयवेशी र वडा नं ८ गिम्दीवेशी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । उक्त क्षेत्रमा असोज ११ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । पासाङल्हामु राजमार्ग तथा त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–तिमुरे–रसुवागढी सडक खण्डमा बाढीका कारण आवतजावत ठप्प छ । टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा पनि जोखिमका कारण रात्रीकालीन यातायात रोकिएको छ ।

धादिङमा पृथ्वी राजमार्गको गजुरी–६ जहरे क्षेत्रमा खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि गजुरी–२ फुर्केखोलामा बाढीका कारण कालुपाण्डे राजमार्ग अवरुद्ध छ । बेनीघाट रोराङ–७ कृष्णभिर र वडा नं १० तिङराङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग प्रभावित भएको छ । कान्तिलोकपथअन्तर्गत ललितपुरको गोदावरी–६ बिखेधारा र बागमती–३ भट्टेडाँडामा पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशका कास्की, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्वमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै असोज ९ देखि ११ गतेसम्म राति ६ बजेदेखि बिहान ६ बजेसम्म ग्रामीण तथा जिल्ला भित्रका सडकमा यातायात बन्द गरिएको छ । दाङका राप्ती राजमार्ग (तुलसीपुर–कपुरकोट), भालुवाङ–चकचके र घोराही–होलेरी÷मुर्कुटी सडक खण्डमा असोज ११ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म रात्रीकालीन आवागमन रोकिएको छ । रोल्पा नगरपालिका–७ माडिचौरस्थित मदन भण्डारी राजमार्गमा असोज १२ गतेसम्म रातिको समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

धादिङ, नुवाकोट र रसुवामा वर्षाले यातायात थप प्रभावित भएको छ । धादिङका ज्यामिरे, कृष्णभिर, जवानखोला, मलेखु, परेवाभिर, कमेरेभिर र खहरे क्षेत्रमा पहिरो तथा लेदोका कारण सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार निरन्तर वर्षाका कारण तत्काल सडक खुल्ने अवस्था नरहे पनि पहिरो हटाउने काम जारी छ ।

नुवाकोटका सूचना अधिकारी रुपेश नेपालले वर्षाका कारण आवागमनमा समस्या आएको र सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षा समिति तथा उद्धार टोली तयारी अवस्थामा रहेको बताउनुभएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार भोटेकोशी बाढीले पहिले नै क्षति पु¥याएको सडक र वैकल्पिक मार्गसमेत वर्षाका कारण प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै रोकिएका छन् भने दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर परेको छ ।

प्रहरी र स्थानीय प्रशासनले जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न, यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र पूर्वसूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया