शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

ठगी आरोपमा सिन्धुलीका एक जना पक्राउ

शुक्रवार , आश्विन ९, २०८३


काठमाडौं,०९ असोज  — वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले सिन्धुलीका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थाई घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका बस्ने का ३२ वर्षीय सुजन न्यौपाने रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौंको कपन क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार न्यौपानेले वैदेशिक रोजगारीका क्रममा राम्रो आम्दानी हुने भन्दै एक जना पीडितलाई दक्षिण अफ्रिका पठाइदिने आश्वासन दिएका थिए । सोही क्रममा उनले पीडितबाट २ लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले न्यौपानेको खोजी गरी पक्राउ गरेको जनाएको छ । पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीको नाममा विभिन्न प्रलोभन देखाएर रकम असुल्ने तथा पछि सम्पर्कविहीन हुने घटनाहरू बढिरहेका बेला प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी र अनुसन्धान तीव्र बनाउँदै आएको जनाएको छ । प्रहरीले रोजगारीका लागि विदेश जाने क्रममा आधिकारिक प्रक्रिया र सम्बन्धित निकायबाट प्रमाणित जानकारी लिएर मात्रै आर्थिक कारोबार गर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया