शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

रास्वपा नेताको घरबाट ५० लाखभन्दा बढी मूल्यका मोबाइल सामग्री बरामद

बुधवार , आश्विन ७, २०८३

रौतहट,०७ असोज — रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता भोला साहको घरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा मोबाइलसँग सम्बन्धित अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटको टोलीले बुधबार साहको घरमा खानतलासी गरेको थियो । गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमान्डमा खटिएको टोलीले गरेको छानबिनका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलका विभिन्न स्पेयर पाट्र्स तथा अन्य सामग्री फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामग्रीको अनुमानित मूल्य ५० लाख १४ हजार ५०० रुपैयाँ रहेको छ । उक्त कारबाहीका क्रममा तीन थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको बताइएको छ ।

गौर–४ टिकुलियास्थित साहको घरमा गरिएको उक्त अपरेसनमा सशस्त्र प्रहरी बलका ४५ जना सुरक्षाकर्मी तथा गौर भन्सार कार्यालय रौतहटका प्रतिनिधिहरू सहभागी थिए ।

बरामद मोबाइल सामग्री र नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया