सिन्धुली,०९ असोज — आगामी डिसेम्बर २०२६ मा आयोजना हुने ३९०.५ किलोमिटर लामो ‘फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा दिगो पर्यटकीय करिडोर निर्माणको पूर्वतयारीस्वरूप सिन्धुलीमाढीमा न्यून–कार्बन पर्यटन र डिजिटल म्यापिङसम्बन्धी विशेष अन्तक्र्रियात्मक सेसन सम्पन्न भएको छ ।
सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट (एससीएचएम) को संयोजन तथा स्टोरीसाइकलको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय होटल व्यवसायी, युवा, विद्यार्थी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा दिगो पर्यटन विकास, न्यून–कार्बन अभ्यास, हरित ऊर्जा अडिट तथा खुला डेटा प्रणालीमार्फत पर्यटकीय क्षेत्रको डिजिटल नक्साङ्कन गर्ने विषयमा व्यावहारिक छलफल गरिएको थियो ।
कार्यक्रममा स्टोरीसाइकलका निर्देशक एवं टिम लिड सौरभ ढकालले काभ्रेको खोपासी–पात्लेखेत हुँदै सिन्धुलीगढी, हरिहरपुरगढी र मकवानपुरगढीसम्म जोडिने प्रस्तावित पर्यटकीय करिडोरमा स्थानीय हरित आतिथ्य, रैथाने उत्पादनको प्रयोग र डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत मात्र दीर्घकालीन तथा दिगो पर्यटन सम्भव हुने बताए ।
उनले स्थानीय स्रोत, संस्कृति र उत्पादनलाई पर्यटनसँग जोड्दै वातावरणमैत्री अभ्यास अवलम्बन गर्न सके यस क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे ।
यस अभियानअन्तर्गत यसअघि काभ्रेको खोपासी र पात्लेखेत तथा सुनकोसी गाउँपालिकाको हायूगाउँमा डिजिटल म्यापिङ कार्य सम्पन्न भइसकेको छ । साथै स्थानीय होटल तथा होमस्टे व्यवसायी, युवा र अन्य सरोकारवालाहरूका लागि न्यून–कार्बन पर्यटन, हरित ऊर्जा अडिट र डिजिटल म्यापिङसम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
सिन्धुलीमाढीमा कार्यक्रम सम्पन्न भएपछि प्राविधिक तथा अनुसन्धान टोली हरिहरपुरगढीतर्फ प्रस्थान गरेको छ । अभियानको अर्को चरणअन्तर्गत शनिबार असोज हरिहरपुरगढी गाउँपालिकाको संयोजनमा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा युवाहरूसँग डिजिटल म्यापिङ, हरित आतिथ्य र पर्यटकीय सम्भावनासम्बन्धी छलफल तथा नक्साङ्कन कार्य अघि बढाइनेछ ।
विश्व पर्यटन दिवसको अवसर पारेर सञ्चालन भइरहेको यस अभियानले स्थानीय तहमा कार्बन उत्सर्जन न्यूनीकरण, रैथाने खाना तथा उत्पादनको प्रवद्र्धन र काभ्रेदेखि सिन्धुलीसम्मका पर्यटकीय बस्तीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्य राखेको छ ।
प्रस्तावित ‘फोर्ट स्टेज राइड’ करिडोरले ऐतिहासिक गढी, स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र समुदायमा आधारित पर्यटनलाई एकीकृत गर्दै वातावरणमैत्री पर्यटन विकासको नयाँ नमुना स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।