काठमाडौँ,०७ असोज – बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली न्यून चापीय प्रणाली ‘डीप डिप्रेसन’ पछिल्लो छ घण्टामा प्रतिघण्टा १२ किलोमिटरको गतिमा पश्चिम दिशातर्फ अघि बढिरहेको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान ५ः३० बजे उक्त प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्री क्षेत्रमा रहेको थियो ।
मौसम विभागले बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रबीच पर्ने कलिङ्गपट्टनम आसपासबाट यो प्रणालीले तट पार गर्ने सम्भावना रहेको जनाएको छ । समुद्रमा बन्ने कम वायुमण्डलीय चापको शक्तिशाली अवस्थालाई ‘डीप डिप्रेसन’ भनिन्छ, जसले तीव्र हावाहुरीसहित प्रभाव पार्न सक्छ ।
यसको प्रभावका कारण भारतको मध्य प्रदेशका छिन्दवाडा, सिवनी र बालाघाट क्षेत्रमा भारी वर्षाको चेतावनी जारी गरिएको छ । बिहारका सबै ३८ जिल्लामा वर्षाको सम्भावना जनाउँदै पहेँलो सतर्कता अपनाइएको छ ।
यता राजस्थानमा भने वर्षा रोकिएसँगै तापक्रम बढेको छ । जेसलमेरमा ४१ डिग्री सेल्सियस तथा बीकानेर र बाडमेरमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको छ । सेप्टेम्बरमै मे महिनाजस्तो गर्मी महसुस भइरहेको मौसम विभागले जनाएको छ । राजस्थानमा आगामी चारदेखि पाँच दिन मौसम सुक्खा रहने र तापक्रम अझ बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।