शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली खुर्कोटको माटोदेखि विश्वविद्यालय निर्माणसम्म : सुरेशराज शर्माको अमर यात्रा

बिहिवार , आश्विन ८, २०८३


काठमाडौं,०८ असोज – नेपालमा आधुनिक तथा प्राविधिक शिक्षाको जग बलियो बनाउने अग्रणी शिक्षाविद् एवं काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६ः५० बजे उनको निधन भएको हो ।

वि.सं. १९९७ साउनमा सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालको शिक्षा क्षेत्रमा विशिष्ट योगदान दिएका थिए । बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका उनले उच्च शिक्षा, प्राविधिक शिक्षा र संस्थागत विश्वविद्यालय विकासमा दीर्घकालीन प्रभाव छाडेका छन् ।

शर्माको प्रारम्भिक शिक्षा घरमै संस्कृतबाट सुरु भएको थियो । वि.सं. २००८ मा सिन्धुलीगढी हुँदै काठमाडौं आएका उनले कर्णाटक विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरे । वि.सं. २०२३ सालदेखि कीर्तिपुरमा अध्यापन सुरु गरेका उनले त्रिचन्द्र क्याम्पसमा सात वर्ष अध्यापन गरेपछि छात्रवृत्तिमा बेलायत गई रसायनशास्त्रमा पीएचडी पूरा गरेका थिए ।

विदेशबाट उच्च शिक्षा हासिल गरेर फर्किएपछि उनलाई तत्कालीन राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिवको जिम्मेवारी दिइयो । तीन वर्षका लागि दिइएको उक्त जिम्मेवारीमा उनले करिब साढे १० वर्ष योगदान पु¥याए । नेपालको शिक्षा नीति निर्माण र सुधारका क्षेत्रमा उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापनामा समेत शर्माको महत्वपूर्ण योगदान थियो । सीटीईभीटी निर्देशकका रूपमा उनले जुम्ला, जिरी, धनकुटालगायत दुर्गम क्षेत्रमा पुगेर प्राविधिक शिक्षाको विस्तार अभियान अघि बढाएका थिए ।

वि.सं. २०४८ सालमा उनकै नेतृत्वमा काठमाडौं विश्वविद्यालय स्थापना भयो । धुलिखेललाई केन्द्र बनाएर वि.सं. २०५० देखि पठनपाठन सुरु गरेको उक्त विश्वविद्यालयले नेपालमै पहिलोपटक इन्जिनियरिङ, कम्प्युटर, फार्मेसी र वातावरण विज्ञानजस्ता नयाँ विषयको अध्ययन सुरु गर्याे । शर्माले विश्वविद्यालयको उपकुलपतिका रूपमा लगातार ६ कार्यकाल अर्थात् २१ वर्ष नेतृत्व सम्हाले ।

शिक्षाविद् केदारभक्त माथेमाका अनुसार शर्मा केवल विश्वविद्यालय स्थापना गर्ने व्यक्ति मात्र नभई उच्च शिक्षाको गुणस्तर र पहुँच विस्तारका लागि समर्पित दूरदर्शी शिक्षाविद् थिए । नयाँ शिक्षा समितिमा पहिलो भेट हुँदा नै शर्माको इमानदार, सरल र स्पष्ट सोचबाट आफू प्रभावित भएको माथेमाले स्मरण गरेका छन् ।

माथेमाका अनुसार शून्यबाट विश्वविद्यालय निर्माण गर्नु सामान्य काम नभएको र काठमाडौं विश्वविद्यालयलाई संस्थागत आधार दिन शर्माको लगनशीलता तथा समर्पण महत्वपूर्ण रहेको थियो । चिकित्सा शिक्षा सुधारका विषयमा पनि उनीहरूबीच लामो सहकार्य भएको थियो । चिकित्सा शिक्षा आयोगको कामका क्रममा निजी मेडिकल कलेजको नियमन, अनुगमन र गुणस्तरका विषयमा शर्माले अनुभवका आधारमा स्पष्ट धारणा राख्ने गरेको माथेमाले बताएका छन् ।

“उहाँ ठूलो पद र प्रतिष्ठाको मोहभन्दा काममा विश्वास गर्ने सरल तर अत्यन्त विद्वान व्यक्ति हुनुहुन्थ्यो,” माथेमाले स्मरण गरेका छन् ।

काठमाडौं विश्वविद्यालयका पूर्वसहकर्मी डा. लक्षण लामाले पनि शर्मालाई दूरदर्शी नेतृत्वकर्ताका रूपमा सम्झिएका छन् । सन् २००६ मा पहिलोपटक भेटेका लामाले विद्यार्थी हुँदै सहकर्मीका रूपमा काम गर्ने अवसर पाएको उल्लेख गर्दै शर्माले तत्कालीन उपलब्धिभन्दा संस्थाको भविष्यलाई प्राथमिकता दिने गरेको बताए ।

उनका अनुसार विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने, स्वायत्त र बलियो संस्था बनाउने तथा दीर्घकालीन संरचना विकास गर्ने विषयमा शर्माको सोच स्पष्ट थियो । जीवनको अन्तिम समयसम्म पनि उनी नेपालको विश्वविद्यालय प्रणालीलाई अझ संस्थागत र प्रभावकारी बनाउने विषयमा चिन्तित रहेको लामाले बताए ।

नेपाली काँग्रेसका नेता तथा नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष भीमसेनदास प्रधानले पनि शर्मालाई सरल, इमानदार र प्रेरणादायी शिक्षकका रूपमा सम्झिएका छन् । त्रिचन्द्र क्याम्पसमा शर्माको विद्यार्थी रहेका प्रधानले पछि सहकर्मीका रूपमा समेत काम गर्ने अवसर पाएको उल्लेख गर्दै नेपालमा पहिलो निजी विश्वविद्यालय स्थापना गरेर विज्ञान तथा प्रविधिको क्षेत्रमा शर्माले अतुलनीय योगदान दिएको बताए ।

शर्माले पछाडि छाडेको सबैभन्दा ठूलो विरासत भौतिक संस्था मात्र नभई शिक्षा क्षेत्रमा गुणस्तर, स्वायत्तता र दीर्घकालीन सोचको संस्कार हो । नेपालको आधुनिक शिक्षाको यात्रामा उनको योगदान आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्नेछ ।

प्रतिक्रिया