सिन्धुली,०८ असोज — सिन्धुलीको मरिण गाउँपालिका–४ साहानमा निर्माणाधीन आधुनिक भैंसी वध तथा प्रशोधित मासु उद्योगमा कार्यरत ८८ जना चिनिया नागरिकको भिसा अध्यागमन विभागले रद्द गरेको छ । चीनको छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको जियान फुड्स प्रालि (नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट) मा संलग्न ती कामदारको भिसा रद्द गरी निष्कासन प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
कालिकास्थानस्थित अध्यागमन विभागले बुधबार गरेको निर्णयअनुसार उनीहरूले भिसाको उद्देश्यविपरीत काम गरेको पाइएकाले कारबाही अघि बढाइएको हो । विभागका प्रवक्ता टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा अध्यागमन ऐन, २०४९ अनुसार जरिवाना तथा निष्कासन प्रक्रिया अघि बढाइएको उल्लेख छ ।
यद्यपि, उनीहरू कुन प्रकारको भिसामा नेपाल आएका थिए र के काम गरिरहेका थिए भन्ने विषय विज्ञप्तिमा स्पष्ट खुलाइएको छैन । विभागका अधिकारीहरूका अनुसार ती अधिकांश चिनियाँ नागरिक व्यवसायिक (बिजनेस) भिसामा नेपाल प्रवेश गरी निर्माणाधीन मासु उद्योगमा श्रमिकका रूपमा काम गरिरहेको पाइएको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बिजनेस भिसामा आएका व्यक्तिहरूले भिसाको उद्देश्यअनुसार व्यवसाय सञ्चालन नगरी अन्य काम गरेको देखिएकाले कानुनी प्रक्रिया अघि बढाइएको बताए । विभाग स्रोतका अनुसार कतिपय विदेशी नागरिकले नेपालमा आईटी कम्पनी दर्ता गरेर बिजनेस भिसा लिएको तर वास्तविक रूपमा ती कम्पनीमार्फत कुनै व्यवसाय नगरी मासु उद्योगको काममा संलग्न भएको पाइएको हो ।
आईटी कम्पनी दर्ताका लागि लगानीको निश्चित सीमा नतोकिने भएकाले त्यसको प्रयोग गरी नेपाल प्रवेश गर्ने प्रवृत्ति देखिएको अध्यागमन अधिकारीहरूको भनाइ छ । उनीहरूका अनुसार कागजमा कम्पनी भए पनि व्यावसायिक गतिविधि नभएको अवस्थामा बिजनेस भिसा केवल नेपाल प्रवेशको माध्यम बनेको देखिएको छ ।
यता, उद्योग सञ्चालक जियान फुड्स प्रालिले भने आफ्ना विदेशी कर्मचारीहरू दक्ष प्राविधिक जनशक्ति भएको दाबी गरेको छ । कम्पनीले श्रम भिसाका लागि प्रक्रिया अघि बढाइरहेको अवस्थामा अचानक भिसा रद्द हुँदा उद्योग सञ्चालनमा कठिनाइ हुने जनाएको छ ।
कम्पनीले १ साउनमा कृषि विभागमा पत्र पठाउँदै चीनका प्राविधिक कामदारहरूको श्रम अनुमति तथा कार्य भिसा स्वीकृतिका लागि आग्रह गरेको थियो । पत्रमा मरिणमा निर्माण भइरहेको अत्याधुनिक भैंसी वध तथा खाद्य प्रशोधन कारखानाको उत्पादन प्रणाली उच्च प्रविधिमा आधारित भएकाले अनुभवी विदेशी विशेषज्ञ आवश्यक रहेको उल्लेख गरिएको छ ।
कम्पनीले करिब १० हजार नेपाली स्थायी कामदारमध्ये विदेशी विशेषज्ञको संख्या ५ प्रतिशतभन्दा कम हुने र उद्योग सञ्चालनका लागि करिब ५०० जना विदेशी प्राविधिक आवश्यक पर्ने दाबी गरेको छ ।
मरिणमा निर्माण भइरहेको उक्त परियोजना नेपाल–चीनबीच राँगाभैंसीको प्रशोधित मासु चीन निर्यात गर्ने योजनासँग जोडिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि अघि बढेको यो परियोजनाका लागि उद्योग विभागले करिब २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको थियो ।
सिचुवानस्थित छेन्दु जियान फुड कम्पनीको प्रस्तावमा स्थापना भइरहेको उद्योगले वार्षिक २ लाख टन मासु र ५५ हजार टन छाला, भित्री अंग तथा अन्य सहायक उत्पादन गर्ने लक्ष्य राखेको छ। करिब ५० बिघा क्षेत्रफलमा निर्माण भइरहेको उद्योग आगामी पुसदेखि सञ्चालन गर्ने तयारीमा थियो ।
परियोजनाले नेपालका किसानलाई लाभ पु¥याउने, भैंसी पालन उद्योग विस्तार गर्ने, १० हजार नेपालीलाई रोजगारी दिने तथा प्रशोधित मासु निर्यातमार्फत वार्षिक १.५ अर्ब अमेरिकी डलरसम्म विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य सार्वजनिक गरिएको थियो । तर विदेशी कामदारको भिसा विवादसँगै उद्योग सञ्चालन प्रक्रिया अहिले अन्योलमा परेको छ ।