बाँके,०५ असोज - नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ क्षेत्रमा लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा निगरानी गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय देशराज चौहान लोनिया र उनकी २५ वर्षीया श्रीमती पूजा लोनिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार उनीहरुको साथबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन, भे ६ प ३७४५ नम्बरको मोटरसाइकल तथा दुई थान मोबाइल बरामद गरिएको छ । आइतबार बेलुका पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी सोमबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका–एकलैनी क्षेत्रबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने ३५ ग्राम ९०० मिलिग्राम लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले घर खानतलासी गर्दा नेपालगञ्जका ३० वर्षीय मोहम्मद हसिब अन्सारी र उनका २३ वर्षीय भाइ समिर अहमद अन्सारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरुको साथ तथा कोठाको दराजबाट उक्त परिमाणको पदार्थ, विभिन्न कम्पनीका पाँच थान मोबाइल, एक थान डिजिटल तराजु र नगद ७३ हजार ७०० रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिएका छन् ।