सिन्धुली, १७ कात्तिक – सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित मञ्जरी रिसोर्ट नजिक बीपी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
सोमवार दिउँसो १२ बजे सिन्धुलीबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०२–००८ प ४४२८ नम्बरको मोटरसाइकल र काठमाडौंँबाट इलामतर्फ आउँदै गरेको बा ५१ प २८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले मंगलवार जनाएको छ ।
दुर्घटनामा मधेश प्रदेशको मोटरसाइकल चालक धनुषाको नगराइन नगरपालिका–५ निवासी २० वर्षीय कृष्णकुमार झाको हातमा चोट लागेको छ । सोही मोटरसाइकलको पछाडि सवार जनकपुर उपमहानगरपालिका–८ निवासी २० वर्षीय पशुपति झाको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको छ ।
त्यस्तै, अर्को मोटरसाइकल चालक इलामको सूर्योदय नगरपालिका–८ निवासी ६० वर्षीय डम्बरबहादुर गुरुङको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । दुवै मोटरसाइकल प्रहरी चौकी गढीको नियन्त्रणमा रहेका छन्। दुर्घटनामा संलग्न चालकले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमतिपत्र भएको प्रारम्भिक विवरणमा उल्लेख छ । घटनास्थल प्रहरी चौकी गढीबाट सात किलोमिटर पश्चिममा पर्दछ ।