बुधवार, आश्विन २८ गते २०८३

Wednesday 14th October 2026

यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते

सोमवार , आश्विन २६, २०८३

नवलपरासी पश्चिम२६ असोज — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित एस मोड नजिक यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन् ।


काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस असोज २६ गते सोमबार बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनाका बेला बसमा करिब ४० देखि ४५ जना यात्रु सवार थिए ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ । घाइतेमध्ये अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढको अवस्था मध्यम रहेको छ ।

अन्य घाइतेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी र सोही स्थानका ४८ वर्षीय धनञ्जय जोशी रहेका छन् । त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का पनि घाइते भएकी छन् ।

दुर्घटनामा बसचालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक र सहचालक गोदावरी नगरपालिका–१ का ४६ वर्षीय मोहन जोशीसमेत घाइते भएका छन् । मौसमीबाहेक अन्य ६ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

बस पल्टिने क्रममा सोही दिशाबाट आइरहेको एचआर ३९ जी २८७६ नम्बरको भारतीय ट्रकमा समेत सामान्य ठक्कर लागेको थियो । ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

दुर्घटनाका बाबजुद पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया